वेबटिभी खबर
काठमाडौं । विश्वभर कोरोना संक्रमणको नयाँ लहर ल्याउने डेल्टा भेरिएन्ट पुरानो भेरिएन्ट अल्फाको तुलनामा कम घातक भएको एक अध्ययनले देखाएको छ ।
डेल्टा भाइरसको प्रसार दर अत्यधिक भए पनि यसबाट हुने मृत्युदर ० दशमलव २५ प्रतिशत रहेको छ भने अल्फा भेरिएन्टबाट संक्रमित व्यक्तिको मृत्युदर १ दशमलव ९० प्रतिशत छ । यसको अर्थ पुरानो भेरिएन्टबाट ४०० जनामा ८ जनाको मृत्यु हुन्छ भने डेल्टाका ४०० जना संक्रमितमध्ये १ जनाको मात्र मृत्यु हुन्छ ।
बेलायतको पब्लिक हेल्थ डिपार्टमेन्टले हालै गरेको अध्ययनअनुसार प्रति १० लाख डेल्टा भेरिएन्ट संक्रमितमध्ये २४८ जनाको मृत्यु भएको थियो भने अल्फा भेरिएन्टबाट संक्रमित १० लाखमा १ हजार ९ सय २ जनाको मृत्यु भएको थियो ।
बेलायतमा १५ जुलाईभन्दा अगाडि तीन महिनासम्मका २ लाख ७१ हजार कोरोना संक्रमितको नमुना जिनोम सिक्वेन्सिङको तथ्यका आधारमा नतिजा प्रकाशन गरिएको हो । डेल्टा भेरिएन्ट सुरुमा फैलिएको भारतमा भने यही भेरिएन्टका कारण ८८ प्रतिशत संक्रमित भएका छन् ।
विश्वभरका महामारी विशेषज्ञहरुले यसलाई अहिलेसम्मको सबैभन्दा विस्तृत र महत्वपूर्ण अध्ययन मानेका छन् । अहिले अमेरिका र युरोपमा भेटिएकामध्ये ९५ प्रतिशत डेल्टा भेरिएन्टबाट संक्रमित रहेका छन् ।
भारतमा अहिलेसम्म १५ महिनामा जम्मा ४२ हजार ८ सय ६९ नमुनाको जिनोम सिक्वेन्सिङ गरिएको छ । बेलायतमा भने २ लाख ७१ ह्जारको सिक्वेन्सिङ मात्र ३ महिनामा गरियो । बेलायतमा कुल संक्रमितमध्ये १० प्रतिशतको जिनोम सिक्वेन्सिङ गरिएको छ । भारतमा भने जम्मा ० दशमलव १४ प्रतिशतको सिक्वेन्सिङ गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij