वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालका नेतालाई केही दिनमा नै मन्त्रिपरिषद्मा समेट्ने भएका छन् ।
एमालेमा नेपालपक्ष र जसपामा उपेन्द्र यादव पक्षका नेतालाई देउवाले अब विस्तार हुने मन्त्रिपरिषद्मा समेट्ने रणनीति बनाएका हुन् । एमालेको कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति तयार गरे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी घटेको छैन ।
बुधबार ओलीले एमालेमा नेपाललाई कुनै स्थान नभएको अभिव्यक्ति दिएपछि ओली-नेपाल सम्बन्ध चिसिएको छ । जसपामा पनि अध्यक्षद्वय यादव र महन्थ ठाकुरबीच आफ्नो पक्षमा पार्टी आधिकारिकताको दाबी गर्ने प्रतिष्पर्धा चलिरहेको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धन नै बनाएर साथ दिएका नेपाल र यादव पक्षलाई मन्त्रिपरिषद्मा समेट्ने देउवाको तयारी छ । प्रतिनिधिसभामा विश्वासको मत लिन पनि देउवालाई नेपाल र यादव पक्षको साथ चाहिएको छ ।
तत्कालीन विपक्षी गठबन्धनमा रहेर नेपाल पक्षका २३ र यादव पक्षका १२ जना सांसदले सघाएपछि सर्वोच्च अदालतको परमादेशबाट मंगलबार देउवा प्रधानमन्त्री बनेका छन् ।
मंगलबार नै देउवाले कांग्रेस र माओवादीबाट दुई, दुई जनालाई सहभागी गराएर मन्त्रिपरिषद् गठन गरिसकेका छन् । देउवाको मन्त्रिपरिषद्मा नेपाल र यादव पक्ष सहभागी नहुँदासम्म विपक्षी गठबन्धनको शीर्ष तहमा मन्त्रालयको भागबण्डा हुन सकेको छैन ।
यदि नेपाल पक्ष एमालेको संस्थापन पक्षसँगै मिल्ने अवस्थामा कांग्रेसले ५० प्रतिशत मन्त्रालय आफूसँगै राख्ने रणनीति बनाएको छ । माओवादी केन्द्रलाई ३० प्रतिशत र जसपाको यादव पक्षलाई २० प्रतिशत मन्त्रालय दिने प्रधानमन्त्री देउवाले तयारी गरेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो ।
यद्यपि जसपामा यादव पक्षले ठाकुर पक्षका सांसद तान्न सकेको खण्डमा कांग्रेसले थप मन्त्रालय दिनसक्ने स्रोतको भनाइ छ । नेपाल पक्षले देउवालाई विश्वासको मत दिएर एमालेमा नफर्किने निर्णय गरे कांग्रेस आफू तीन चारवटा मन्त्रालयमा पनि सीमित भएर नेपाल पक्षलाई माआवादीभन्दा बढी मन्त्रालय दिन तयार रहेको बुझिएको छ ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री देउवालाई तत्कालीन विपक्षी गठबन्धनको भावना विपरीत जान नहुने प्रधानमन्त्रीलाई सुझाव दिइसकेका छन् । देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेकै बेला नेपाल र ओलीबीच एमाले एकताको प्रयास असम्भवजस्तै देखिएको छ ।
नेपालले ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताउँदै अब आगामी चुनावसम्म एमालेसहितको राष्ट्रिय एकताको सरकार बनाउनुपर्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij