Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बेनी-जोमसोम-कोरला सडक : दुर्घटनाको जोखिम

बेनी-जोमसोम-कोरला सडक : दुर्घटनाको जोखिम

  • 104
    SHARES
  • बेनी-जोमसोम-कोरला सडक : दुर्घटनाको जोखिम

    म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । 

    कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी-जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।

    स्तरोन्नतिका क्रममा रहेको बेनी-जोमसोम-सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताए ।

    ‘करिब एक किलोमिटरमाथिको पाखो बगेको छ’, उनले भने, ‘खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।’ 

    आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुंगा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुंगा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ ।

    यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुंगा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जंगल नष्ट भएको छ ।

    सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताए । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ ।

    मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।

    सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगंगा, अन्नपूूर्ण गाउँपालिका र बेनी-जोमसोम-कोरला सडक आयोजनाले अपिल गरेका छन् ।

    ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताए ।

    पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उनले बताए ।

     योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij