वेबटिभी खबर
काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले बिहीबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए ।
यसैगरी तेस्रो लाम पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सहज हाेस भनेर बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था गरिएको छ ।
मेलामा चोरी र लुटपाटको घट्ना हुन नदिन कोषले बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरेको छ । नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा बिहीबारदेखि सुरक्षा व्यवस्था कडा पारिएको कोषले जनाएको छ
पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ ।
सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग र अन्य स्थानमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।
जुत्ताचप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाश डाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मती पारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति संगीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयबागेश्वरी, मित्रपार्क तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij