एजेन्सी
नयाँ दिल्ली । छिमेकी देश भारतमा ४ लाख १३ हजार ६७० भिखारी छन् । भारतलाई भिखारीमुक्त बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले योजना अघि सारे पनि सफल भएको छैन ।
सबैभन्दा बढी पश्चिम बंगालमा ८१ हजार दुई सय ४४ जना भिखारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । बाटोमा माग्दै हिँड्नेमा २१ प्रतिशत १२ कक्षा उतिर्ण गरेकाहरु भेटिएको छ । स्नातक र स्नातकोत्तर डिग्री लिएका मगन्ते पनि भेटिएका छन् ।
भारतकै सबैभन्दा स्वच्छ सहर मानिएको इन्दौरमा पनि भिखारीहरुकाे गिराेह भेटियाे । त्यहाँको एउटा भिखारी गिरोहलाई पक्राउ गरिएको थियो जसले दिनभर मागेर राति होटलमा महंगा खानेकुरा खाने र आराम गर्ने गरेको पाइयो ।
भारतको महिला तथा बाल विकास विभागका अधिकारी दिनेश मिश्रका अनुसार धेरै भिखारीलाई पक्राउ गरेर अनुसन्धान गर्दा धनीहरु पनि भेटिएका थिए ।
‘पक्राउ परेका भिखारीमध्ये कसैको पक्की घर, कसैका छोराबुहारी बैंकका जागीरे भएको पाइयो,’ मिश्रले भने, ‘एक जनासँग त २९ हजार नगद भेटियो । अर्का एक जनाले ब्याजमा पैसा लगाउने गरेको पायौँ ।’ मिश्रका अनुसार धेरै भिखारी काम गरेर खान सक्षम अवस्थाका भेटिएका थिए ।
भिखारीमुक्त भारत बनाउने अभियान अन्तर्गत केही सहरमा सरकारले काम सुरु गरिसकेको छ । त्यहाँ भिखारीलाई पुनस्थापना गर्न थालिएको छ । भिखारीहरुलाई ६ महिनासम्म सरकारले एक ठाउँमा राखेर रोजगारीसँग जोड्ने काम गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij