एजेन्सी
नयाँ दिल्ली । भारतकाे महाराष्ट्र राज्यमा पर्ने बुलढाणा जिल्लाका केही गाउँहरूमा मानिसहरू अचानक तालु खुइलिन समस्या देखिएको छ । मानिसहरूको कपाल झर्न थाल्ने र केही दिनमै तालु खुइलिने गुनासो बढ्दै गएको छ । धेरै मानिसहरूको कपाल एक हप्तामा नै टाउको रित्तिने गरी झरेको छ ।
भारतीय सञ्चारमाध्यम जागरणका अनुसार पछिल्लो ती दिनमा यहाँका तीन वटा गाउँका ६० जनाको अचानक तालु खुइलिएको छ। बाेण्डगाउँ, कलवाड र हिंगना गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्म कपाल झर्ने समस्याबाट पीडित छन् । महिलाहरू पनि यसको शिकार भइरहेका छन् ।
त्यहाँको स्वास्थ्य अधिकारी डा दीपाली बहेकरले स्वास्थ्य विभागको टोलीले तालु खुइलिने समस्या देखिएको कलवाड, बाेण्डगाउँ र हिंगना गाउँको सर्वेक्षण गरेको बताइन् । कपाल झर्ने समस्या देखिएका व्यक्तिहरूको उपचार पनि सुरु भएको छ । यी तीन गाउँका पाँच दर्जन मानिसहरू एक हप्तामा नै तालुखुइले भएका हुन् । धेरै मानिसहरूको टाउकोबाट कपालका गुच्छाहरू झरिरहेकाे बताइएकाे छ ।
अचानक टाउको रित्तिने गरी कपाल झर्न थालेपछि स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले त्यहाँ अनुसन्धान सुरु गरेका छन् । खासगरी त्यहाँको पानी परीक्षण थालिएको छ । कपाल झर्ने समस्या देखिएका बिरामीको उपचारसँगै छाला रोग विशेषज्ञसँग परामर्श गर्न पनि भनिएको छ । यी गाउँहरूबाट परीक्षणको लागि पानीको नमूना पनि लिइएको छ। यो पानीमा कुनै मिसावट हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यसलाई प्रयोगशालामा पठाइँदैछ। डाक्टरले पानीको नमुनाको रिपोर्ट नआउन्जेल चनाखो रहन आग्रह गरेका छन् ।
अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार एक व्यक्तिको दिनमा ५० देखि सय वटा कपाल झर्नु सामान्य हो । यदि कसैको टाउकोमा लगभग एक लाख कपाल छ दिनमा सय वटा कपाल झर्दैमा चिन्ता मान्नु पर्दैन । यो एउटा चक्र जस्तै हो जहाँ केही कपाल जान्छन् र त्यसको ठाउँमा नयाँ कपाल उम्रन्छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij