काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवम् पहलमा एयरपोर्टस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान गरी बिहीबार (आज)देखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यती र तारा एयरलाइन्स प्रालिसँग सहकार्य गरी नयाँ जडान गरेको ट्राफिक लाइटको बिहीबार बिहान एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य सहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए । प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको एसएसपी भट्टराईको भनाइ छ ।
‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फ लग्न प्रयासरत छौं, सम्बन्धित सरोकारवाला निकायबाहेक विभिन्न संघ संस्था, बैंक वित्तीय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै
आइरहेका छौं,’ कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले भने, ‘त्यसैको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको मुलगेटमा लाइट जडान गरी सञ्चालनमा ल्याएको र आगामी दिनमा अन्य चोकहरुमासमेत ट्राफिक लाइट जडानका लागि हातेमालो गर्ने योजना छ ।’
कार्यक्रममा बोल्दै एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भुमिका खेल्ने बताए ।
उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानका लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाइटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उनले पछिल्लो समय प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडान कार्यमा महाशाखाले खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे । उद्घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाइन्सका पदाधिकारी, स्थानीय निकायका सदस्य र अन्य प्रहरी अधिकृतहरु उपस्थित थिए ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनीकरणका लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानको लागि समन्वय एवम् सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij