वेबटिभी खबर
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मुलुकको कुल जनसंख्याको ठूलो हिस्सा सहरी र सहरउन्मुख भएकाले खानेपानीको माग बढेको बताएका छन् ।
आगामी वर्षको बजेटमा सांसदले उठाएका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री यादवले खानेपानी तथा सरसफाइको क्षेत्रलाई राज्यले दिएको महत्वका कारण नेपालमा पानीजन्य रोग लाग्ने क्रम घटेको बताए ।
यसैगरी मन्त्री यादवले ९० प्रतिशत जनसंख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको जानकारी दिए ।
‘अहिलेसम्म ९८ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी तथा २८ प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी पुगेको छ,’ उनले भने, ‘९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न कठिन छ ।’
आम नागरिकलाई शुद्ध, सुरक्षित खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । जनतालाई लाभ दिने खालका खानेपानीका ठुला योजना समयमै टुंग्याइने प्रतिबद्धता उनले जनाए ।
यसैगरी मन्त्री यादवले तराई मधेश लगायत काठमाडौँको भूमिगत पानीमा समेत देखापरेको प्राणघातक तत्व आर्सेनिक प्रदूषण नियन्त्रणका लागि एकीकृत तथा बृहत्तर कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए ।
उनले भने, ‘जलवायु परिवर्तन र अन्य कारणले पानीको स्रोत घटेको, कतिपय स्थानमा मुहान सुकेको तथा भूमिगत जलस्तर घटिरहेको सन्दर्भमा नदी बेसिन डाइभर्सन तथा जलाशययुक्त आयोजनाहरू सञ्चालन गर्ने तथा पानी पुनर्भरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको छ ।’
बजेट अभावका कारण ढल प्रशोधन संघ सरकारले मात्रै प्रचलनमा ल्याएको तथा प्रदेश र स्थानीय तहले ल्याउन नसकेको बताए । परिवर्तित जीवनशैली र तीव्र सहरीकरणले फोहोरको व्यवस्थापन गर्न ढल निर्माण आवश्यक भएकाले कार्य योजना बनिरहेको उनले बताए । मन्त्रालयलाई अहिले बजेटमा ३३ अर्ब ८९ करोड विनियोजन गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij