वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहिबार बसेकोे बैठकले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, ‘भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । केही समयभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरु सबैमा पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेका छौ ।’ यस्तै, बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक अगामी भदौ दोस्रो हप्ता काठमाडौंमा बस्ने भनेर पनि निर्णय गरेको बताए ।
बैठकले रुपन्देही जिल्लाको क्षेत्र नं ३ को उपनिर्वाचन प्रभावकारी रुपमा अगाडि बढाउन उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पनि उनको भनाई छ । श्रेष्ठले भने, ‘आजको बैठकमा विशेष गरि दिपक बोहराको मृत्यु पश्चात उनको ठाँउमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ को उपनिर्वाचनको सन्दर्भमा आज छलफल भएको छ । उम्मेदवारको प्रारम्भिक सूची तयार पारि यो असार मसान्तसम्म केन्द्रमा पठाउनको लागि हामीले जिल्ला कार्य समितिलाई निर्देश गरेका छौ । र उपनिर्वाचनको लागि तयारी थाल्न सबै कमिटिलाई अनुरोध गरेका छौ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन गर्न समिति गठन गरेका छौ ।’
यो वर्षको पार्टी महाधिवेशनको वर्ष भएको हुनाले असोजको मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij