वेबटिभी खबर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् । मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि गरेका छन् ।
जेनजी आन्दोलन समेत पश्चिमाहरूको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संविधान पुनः स्थापना गर्नु आवश्यक रहेको औँल्याएका छन् । उनले संवैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् ।
नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?
हिजोको राजाको शासन एक पटक सम्झिनुस् ! गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुँदै आज जेएनजी आन्दोलनको नाममा पश्चिमाहरूको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशीला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गुरुङ ! भनेपछि देश कहाँ पुग्यो र देश लाई कहाँ लगिदै छ ? त्यही भएर धैर्य गर्नुस् राजा, देउता, धर्म र संस्कृति खोपीमै भए पनि चाहिदो रहेछ, प्रतीक्षा गर्नुस् ! बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संविधान पुनः स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरूका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला । साथै लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालो सुचीमा परेका र घरबार लिलाम भएका सम्पूर्ण अभियन्ताहरूलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij