वेबटिभी खबर
रामेछाप । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-६ चैनपुरमा मंगलबार बिहान सडकबाट कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो ।
दुर्घटनामा ओमबहादुरकी ४९ वर्षीया पत्नी सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा चालकसमेत रहेका ओमबहादुरको मृत्यु भएको र उनकी पत्नीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । छोरा निशान्तको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ ।
प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुनकोसीको टोली खटिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij