वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री छान्ने प्रयास जारी राखेको छ। तर, औपचारिक निर्णय भने गरिसकेको छैन् । खुमलटार स्रोतका अनुसार सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको छनौट गर्ने अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार पारिसकेका छन् । यसपटक प्रचण्डले मन्त्री छान्ने मापदण्ड बनाएका छन् । त्यो मापदण्ड हो– पार्टीको अन्तरसंघर्ष र वर्ग संघर्षमा डटेर उभिने र पार्टी प्रति निष्ठावान नेता ।
‘शान्ति प्रक्रियामा आइसकेपछि माओवादीबाट ८४ जना मन्त्री बने । ज–जसलाई पार्टीले मन्त्री बनायो अधिकांशले पार्टी र नेतृत्वलाई धोका दिए,’ स्रोतले भन्यो, ‘त्यसैले पो पटक नेतृत्व सचेत छ । रामबहादुर थापा बादल, टोपबहादुर रायामाझीदेखि स्थानीय तहसम्म देखिएको प्रवृत्ति मुल्यांकन गर्दा माआवादी आन्दोलनमा कस्तोखाले प्रवृत्ति र संस्कृति निर्माण गरिएछ, भन्ने विषयले यसपटक अध्यक्षलाई गम्भिर बनाएको छ ।’
यस्ता प्रवृतिले पार्टी र आन्दोलनलाई क्रमशः विघठनतिर लगिरहेको प्रचण्डले निष्कर्ष निकालेका छन्। त्यसैले यो पटक पार्टीको अन्तरसंघर्ष र वर्गसंघर्षमा डटेर पार्टी हितको पक्षमा उभिने पात्रलाई मन्त्री बनाउने योजनामा प्रचण्ड छन् । उनको रोजाइमा देव गुरुङ, देवेन्द्र पौडेल, सुदन किराती, शिवकुमार मण्डल लगायत छन्। यही मापदण्ड अनुसार प्रचण्डले यसअघि जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाइसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मातृका यादव लगायतका नेताहरु यो पटक मन्त्रिपरिषद्मा नअट्ने भएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठकोसमेत सम्भावना न्यून रहेको स्रोतको दाबी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij