वेबटिभी खबर
झापा । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बंगाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका- १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ ।
आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ ।
शिशुलाई उपचारका लागि यही साउन १५ गते सिलिगुडीस्थित हस्पिटल लगिएको बुबा सनमले बताए । हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क बुझाउन दबाब दिएको थियो । खोलामा ढुंगागिटी चालेर जसोतसो हातमुख जोड्दै आएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको ५४ हजार लगेर बुझाएको उनले जानकारी दिए ।
अरु रकम बुझाउन नसकेको भन्दै शिशुकी आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यलाई पैसा खोज्न पठाइएको थियो ।
ऋण खोजेर थप एक लाख १५ हजार शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिलाले बताए । हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाईसमेत पैसा खोज्न नेपाल फर्काइदिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij