एजेन्सी
नयाँ दिल्ली । भारतको बिहार राज्यमा पर्ने मुजफ्फरपुरको ब्रह्मपुरा क्षेत्रमा रहेको प्रसाद अस्पतालमा बिहीबार बिहान अँध्यारैमा अचानक आगलागी हुँदा भर्ना भएका पाँच बिरामीको मृत्यु भएको छ ।
अस्पतालको पाँचौँ तल्लामा रहेको आईसीयू वार्डबाट बिहान सवा चारबजे तिर आगो लाग्न सुरु भएको थियो । अचानक लागेको आगो द्रुत गतिमा फैलिएको थियो। आगलागी लगत्तै बाक्लो धुवाँले सम्पूर्ण अस्पताल भरिएको थियो । आगलागीपछि अस्पतालमा बिरामी र कुरुवा डरले चिच्याएका थिए ।
प्रहरीका अनुसार आगलागीमा परेर अहिले सम्म पाँच जनाको मृत्यु भइसकेको छ । अन्य ३० भन्दा बढी बिरामीहरू गम्भीर रूपमा जलेका छन् । घाइतेहरूलाई उद्धार गरेर उपचारार्थ अन्य अस्पतालहरूमा भर्ना गरिएको छ।
यसैबीच बिहारका मुख्यमन्त्री सम्राट चौधरीले घटनाप्रति समवेदना व्यक्त गर्दै मृत्यु भएका बिरामीहरूका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरे ।
चौधरीले सामाजिक सञ्जालमार्फत मृतक परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।
घाइतेको उपचारका लागि स्थानीय प्रशासन पूर्ण रूपमा परिचालन भएका छन् । घाइतेहरूको उपचारको लागि सदर अस्पतालहरूमा पर्याप्त व्यवस्था गरिएको छ।
बिहार सरकारले अस्पतालमा आगलागीको घटनबारे गम्भीर ढंगले जाँच गर्ने बताएको छ । अस्पतालको कमजोरी भेटिए कडा कारबाही गर्ने त्यहाँका अधिकारीहरूले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij