वेबटिभी खबर
काठमाडौं । मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ । प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो ।
आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएको मारवाडी समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई आम सर्वसाधारणमाझ परिचित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ । महोत्सवमा मारवाडी समुदायको ऐतिहासिक पृष्ठभूमि, रहनसहन, रीतिरिवाज, चाडपर्व, परम्परागत पहिरन तथा खानाका विभिन्न परिकार प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, महोत्सवमा राजस्थानी लोकनृत्य, सूफी संगीत, अन्य सांगीतिक प्रस्तुति, लोकबाजा तथा कठपुतली नाचलगायत सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ । आयोजकका अनुसार नेपालमा मारवाडी समुदायले व्यापार तथा व्यवसायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस समुदायले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै मुलुकको राजस्व र आर्थिक गतिविधिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
तर मारवाडी समुदायको कला, संस्कृति, खानपान, वेशभूषा र परम्पराबारे अन्य समुदायका मानिसलाई पर्याप्त जानकारी नभएकाले तिनको परिचय र प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । महोत्सवले विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव र सामाजिक एकता अभिवृद्धिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजकले महोत्सवमा सर्वसाधारणको सहभागिताका लागि आग्रह गर्दै सञ्चारमाध्यमलाई पनि कार्यक्रमको प्रचारप्रसारमा सहयोग गर्न अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij