Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

इटालीमा सरकार किन लामो समय टिक्दैन ? 

इटालीमा सरकार किन लामो समय टिक्दैन ? 

  • चैत्र १५, २०७७ आइतवार १३:१० बजे
  • 1.5K
    SHARES
  • इटालीमा सरकार किन लामो समय टिक्दैन ? 

    रोम । जनवरी २०२१, चम्किलो कालो कारमा रोमका सडकहरुमा घुम्दै एक व्यक्ति इटालीका राष्ट्रपति सर्जियो मटारेल्लाको आधिकारिक निवासमा आइपुगे र उनलाई राजीनामा दिए । ती थिए, इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टे । उनले सन् २०१८ को अन्त्यदेखि इटाली सरकारको नेतृत्व सम्हालेका थिए । 

    इटालीको इतिहास हेर्दा सन् १९४८ देखि प्रायः प्रत्येक वर्ष एक प्रधानमन्त्रीले राजीनामा दिएकै हुन्छन् । इटालीमा यस्तो के हुन्छ, जसका कारण प्रत्येक वर्ष सरकार फेरिन्छन्, लामो समय एउटै व्यक्ति सत्तामा किन टिक्न सक्दैन ? यस विषयमा विशेषज्ञहरुले विश्लेषण गरेका छन्ः  

    बेनेटो मुसोलिनी सन् १९२२ मा इटालीका प्रधानमन्त्री बनेका थिए, दोस्रो विश्व युद्धको क्रममा सन् १९४३ मा पक्राउ नपर्दासम्म उनले इटालीको शासन चलाएका थिए ।

    इटालियन पोलिटिकल साइन्स रिभ्यूका सम्पादक प्रोफेसर मार्टिन बुल भन्छन्, 'इटालीको राजनीति तथा संस्कृतिमा यसको गम्भीर प्रभाव परेको छ । मुसोलिनीले कमजोर राजनीतिक प्रणालीमा सत्ता कसरी कब्जा गर्ने भनेर बताएका थिए । उनले सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर थोरै मात्र प्रतिनिधित्व दिन्थे, यो उनको तानाशाही प्रवृत्ति लुकाउने उपाय थियो ।'

    उनी भन्छन्, 'तानाशाह त पराजित भयो, तर उहि समयमा मुसोलिनीका समर्थकहरु र विपक्षीहरु बीच गृहयुद्ध सुरु भयो । गृहयुद्ध पनि अन्त्य भयो तर मुसोलिनीप्रति सहानुभूति राख्ने जनताको अन्त्य भएन । तथापि फासीवादविरूद्ध इटालियन भावना संविधानमा अझै पनि स्पष्ट देखिन्छ ।' 

    मुसोलिनीपछि इटालीले मुसोलिनीजस्ता अरु तानाशाहको उदय नहोस भनेर राजनीतिक प्रणालीको पुननिर्माण गर्ने प्रयास गर्यो । यो नयाँ प्रणालीअनुसार कुनै राजनीतिक दल वा एक जना मानिसमात्र धेरै शक्तिशाली नहुने व्यवस्था सुनिश्चित गरियो ।

    यसका व्यवस्थाका लागि अधिकार तथा शक्ति बाँडफाँड गरियो । यसले सरकारी प्रणालीको गतिलाई सुस्त बनायो, ठाउँठाउँमा भिटो, अवरोध भएपछि सम्झौता गर्दै अगाडि बढ्नुपर्ने अवस्था आयो । इटालीमा सरकार बनाउनका लागि फरकफरक पार्टीको गठबन्धन आवश्यक पर्छ, तर सहमति नबनेपछि गठबन्धन टुट्न बेर लाग्दैन् । क्रिश्चियन डेमोक्रेट्स सधैंजसो सत्तामा छ, तर यसका लागि पनि गठबन्धन बनाउनै पर्छ । 

    प्रोफेसर मार्टिन बुलका अनुसार सत्तामा आउन र रहिरहन भ्रष्टाचार आवश्यक भएको थियो । इटालीमा झन्डै ५० वर्षदेखि यही अवस्था छ । प्रत्येक नयाँ सरकारको पछाडि गोप्य भ्रष्टाचार छ, इटालीका नेताका भ्रष्टाचार वर्षौैंसम्म लुकिरहेको थियो, तर समयसँगै सबै भ्रष्टाचार बाहिर निस्किन्छन् । 

    पिसा विश्वविद्यालयमा पोलिटिकल साइन्सका प्रोफेसर अल्बर्टो वानुची सन् १९९२ को एउटा राजनीतिक भ्रष्टाचारको घटना सुनाउँदै भन्छन्, 'त्यससमयमा इटालीको राजनीतिमा भ्रष्टाचारविरुद्ध ठूलो मोर्चा स्थापना गरिएको थियो । इटालीको गठबन्धन सरकारमा सोसलिस्ट पार्टी थियो, भ्रष्टाचार मुद्दाहरुको छानबिनको क्रममा सोसलिस्ट पार्टीका सदस्य मारियो सिजोले आफ्नो पार्टीका वरिष्ठ सदस्यबारे सनसनीपूर्ण र चिन्ताजनक कुरा बताए ।'

    'यसले इटालीको सम्पूर्ण राजनीतिक प्रणालीमा घूसखोरी र भ्रष्टचार प्रणालीको उजागर गर्यो । यसमा ती नेताले एक व्यापारीसँग थोरै घुस रकम लिएको घटना जोडिएको थियो । त्यस समय इटालीमा हरेक व्यवसायीले आफ्नो संरक्षणका लागि नेतालाई पैसा बुझाउने गर्थे, जुन सबैलाई थाहा थियो तर आधिकारिक रुपमा भनिन्थेन ।'

    जब मारियो सिजोले सबै कुरा स्पष्ट पारे, संसदमा पूर्वप्रधानमन्त्री बेटिनो क्राक्सीले आफ्ना सहकर्मीलाई नाटकीय ढंगबाट सम्बोधन गरे । उनले इटालीको पुरै राजनीतिक प्रणालीमा वित्तीय समस्या रहेको र पूर्णतया अवैध रहेको बताउनु पर्यो । 'यदि हामी यी मुद्दालाई आपराधिक ठान्छौं भने इटालीको सम्पूर्ण राजनीतिक प्रणालीलाई गैरकानुनी ठहराउनुपर्नेछ', क्राक्सीले भने ।

    पछि अनुसन्धानले इटालीको राजनीतिमा संलग्न सबै व्यक्ति भ्रष्टाचारमा लिप्त रहेको पुष्टि भयो । यसको परिणामस्वरुप त्यहाँ चार जना पूर्वप्रधानमन्त्री, संसदका सैयौं सदस्य र हजारौं प्रशासनिक अधिकारी अदालतको कठघरामा उभिन पर्यो ।

    यसपछि इटालीका शक्तिशाली राजनीतिक दलमा ठूलो परिवर्तन आयो । केही राजनीतिक पार्टी लोप भए । एक दुई वर्षमै ठूला पार्टीहरु सकिए र साना साना पार्टीको स्थापना भयो । यही क्रममा कुनै पार्टीसँग नाम नजोडिएका सिल्भियो बर्लुस्कोनीको उदय भयो । 

    क्याथोलिक विश्वविद्यालयका प्रोफेसर जुलियस आन्द्रे भन्छन्, 'सन् १९९४ मा छुट्टै पार्टीको गठन गरेका बर्लुस्कोनीले सन् २०११ सम्म इटालीको सत्तामा रहे । आफ्नो कार्यकालमा उनले इटालीको राजनीतिलाई नयाँ शिराबाट परिभाषित गरे ।' 

    जुलियस आन्द्रे भन्छन्, 'बर्लुस्कोनीले राजनीतिक संगठनको नयाँ मोडल बनाए । यस मोडेलमा पार्टीको वित्तीय स्रोत वरिष्ठ नेताहरुको सम्पत्ति थियो । यो मोडेल पचास वर्षदेखि जारी रहेको राजनीति मोडेलको बिल्कुल विपरीत थियो । राजनीतिको यस युगमा निर्णय गर्ने अधिकार मुठ्ठीभरका मानिसहरूमा निहित गरियो । विगत दई तीन दशकमा पार्टी र राजनीतिमा केवल उनीहरूको प्रभुत्व रह्यो ।'

    बर्लुस्कोनी र उनको पार्टीले इटालीमा सिर्जना गरिएको राजनीतिक शून्यतालाई पूर्ति गर्ने काम गर्यो । केही अन्य दलहरू पनि उनलाई पछ्याउने प्रयास गरे । तर सोही समयमा इटालियन राजनीतिमा अनिश्चितता बढ्यो । नब्बेको दशकदेखि इटालियन राजनीतिले पुनः नयाँ मोड लिन थाल्यो । 

    जुलियस आन्द्रेका अनुसार, इटालीको संसदले जनसंख्या अनुपातले राजनीतिमा प्रतिनिधित्वलाई अनुमोदन गर्‍यो । यसले साना दलहरूको भूमिका बढायो । इटालीमा ३० वटा त्यस्ता दल छन् । यसले गर्दा सरकारमा छुट्टै समूहहरु बन्न थाले । सरकार गठन गर्न विपरित विचार भएका दलहरुसँग पनि गठबन्धन गर्न थालियो । 

    यस्तो अवस्थामा, विवाद बढ्न थाल्यो र गठबन्धन छिट्टै टुक्रिने अवस्था आयो । त्यसरी गठबन्धनमा गएका नेताहरु आफ्नो पार्टीको हितलाई बेवास्ता गरेको खण्डमा समर्थन फिर्ता लिन थाले ।  

    सबै पार्टी गठबन्धनमा सहभागी हुनाले इटालीमा लगातार सरकार ढल्ने गरेको जुलियस आन्द्रे बताउँछन् । सरकार विश्वासको मतमा गिरावट आएर भन्दा पनि कुनै एक मुद्दामा गठबन्धनका दलबीच सहमति हुन नसक्दा सरकार ढल्छ । असहमति भएपछि विवाद बढ्दै जान्छ र प्रधानमन्त्री राजीनामा दिन बाध्य हुन्छन् । 

    युरोपेली संघबाट प्राप्त बजेट र कोरोना महामारी नियन्त्रणमा असफल भएपछि उत्पन्न विवादका कारण यसपटकको सरकार ढलेको हो ।

    ग्युसेप कोन्टेले राजीनामा दिएपछि त्यसको एक महिनापछि इटालीका राष्ट्रपतिले वित्तीय व्यवस्थापनमा विशेषज्ञ मानिने मारियो ड्र्यागीलाई सत्ता सुम्पिए । 

    कोरोना महामारीको कारणले यसको आर्थिक अवस्था बिग्रिएको बेला इटालीले युरोपेली संघबाट कोष प्रस्ताव प्राप्त गरेको थियो, यही कोषबारे गठबन्धनमा एक दलसँग सहमति हुन नसक्दा प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो ।

    यसबाहेक बिग्रिदै गएको अर्थव्यवस्थाका कारण इटालीमा बेरोजगारको संख्या पनि बढ्दै गइरहेको छ । मारियो ड्रयागी सुपर मारियो हुन सक्छन्, तर इटालीको अहिलेको परिस्थितिमा उनीबाट धेरै अपेक्षा गर्न सकिँदैन् ।

    मारियो ड्रयागीको सरकारले अर्को पार्टीलाई वार्तामा एकजुट हुनको लागि अवसर दिएको छ । अहिले इटालीको राजनीतिमा एकताको आवश्यकता रहेको विश्लेषकहरु बताउँछन् । 

    बिबिसी इन्क्वेरीबाट

  • सम्बन्धित विषय:

  • # इटाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij