Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नातिसँग खेल्दा चित्त प्रशन्न हुन्छ : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता] 

नातिसँग खेल्दा चित्त प्रशन्न हुन्छ : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता] 

  • 4.1K
    SHARES
  • नातिसँग खेल्दा चित्त प्रशन्न हुन्छ : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता] 

    बौद्धिक नेताको रूपमा चिनिने डा.बाबुराम भट्टराई नेकपा माओवादीले थालेको सशस्त्र आन्दोलनका अगुवामध्येका एक नेता हुन् ।

    सशस्त्र आन्दोलनकाे समयमा प्रचण्डसँगै जोडिने अर्काे नाम डा.भट्टराईको थियो । सशस्त्र आन्दोलनका बेला शीर्ष नेतृत्वमा रहेको, मुलुकमा गणतन्त्र स्थापना गर्न भूमिका निर्वाह गरेकाेलगायतका कारण नेता डा.भट्टराईको छवि सार्वजनिक रूपमा क्रान्तिकारी देखिन्छ ।

    पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.भट्टराईले केही समययता आफ्नो नाति (युगीन) सँगको तस्बिर समाजिक सञ्जालमा बेलाबखत सेयर गरिरहेका हुन्छन् । यसबाट क्रान्तिकारी छवि भएका डा.भट्टराईभित्रको अर्काे रूप माया, प्रेम र स्नेह प्रकट भइरहेकाे देखिन्छ ।

    डा.भट्टराईसँग उनको राजनीतिक पृष्ठभूमिभन्दा फरक विषय, नातिसँगको सम्बन्धका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

    एउटा शसस्त्र आन्दोलन हाँकेको नेता, देशको पूर्वप्रधानमन्त्री र अहिले नेपाल समाजवादी पार्टीको अध्यक्षको रूपमा सक्रिय हुनुहुन्छ । राजनीतिमा यति सक्रिय व्यक्तिको पारिवारीक जीवन हुँदैन भनिन्छ । तपाईं नातिसँगको तस्बिर सामाजिक सञ्जालमा हालिरहनु हुन्छ । नातिसँग हुँदा कस्तो महसुस हुन्छ ?

    मेरो नाति २८ असार २०७७ मा छोरी मानुषीको कोखबाट जन्मियो । त्यही दिन मैले ट्वीट गरेको छु । ट्वीटमा यो (नाति) २२ औं शताब्दीको नागरिक हो भनेर । अहिले हामी २१ औं शताब्दीको तेस्रो दशकमा छौं । हामी ८० वर्ष बाँचियो भने पनि (म ६८ वर्ष भएँ) । सन् २०२० मा जन्मिएको मेरो नाति २२ औं शताब्दि लागेपछि ८० वर्षको हुन्छ । त्यसैले ऊ २२ औं शताब्दिको नागरिक हो भनेर मैले उसलाई त्यसरी हेरिरहेको छु । २१ औं शताब्दीको नागरिकभन्दा २२ औं शताब्दीको नागरिक कति उन्नत हुनुपर्ला ? त्यो बेला संसार कहाँ पुग्ला ? विज्ञान र प्रविधिको कस्तो विकास होला ? भन्ने ढंगले उसलाई अध्ययन गरिरहेको छु । त्यस अर्थमा मैले उसका तस्बिरहरू, ऊसँग खेलेर बसेका तस्बिरहरू सामाजिक सञ्जालमा राखेको हुँ । भविष्यलाई प्रक्षेपण गर्न खोजेको हुँ ।

    baburam bh.jpg

    वेबटिभी खबरसँग कुरा गर्दै डा.भट्टराई ।

    विज्ञानले कृत्रिम वुद्धिको विकास गरिरहेको छ । त्यो मान्छेको मस्तिष्कलाई नै केन्द्रमा राखेर विकास भइरहेको छ । बच्चाको जसरी विकास भइरहेको छ, उसले कसरी सिक्छ भन्ने कुरा मैले किन अध्ययन गरिरहेको छु भने, कृत्रिम वुद्धिसम्बन्धी जुन अनुसन्धान भइरहेको छ, यसको प्रत्यक्ष अवलोकन गर्ने पनि मेरो चाहना हो । यसरी हेर्दा अध्ययनको रूपमा पनि उसलाई हेरेको छु ।

    राजनीतिक कामले काठमाडौं बाहिर रहँदा नातिलाई कत्तिको मिस गर्नु हुन्छ ?

    भावनात्मक ढंगले नातिसँग माया बढी हुन्छ । किनभने छोराछोरी जन्मिने बेलामा २५-३० वर्षको भइरहेका हुन्छौं । त्यो बेला फुर्सद नै हुँदैन । मनोविज्ञानका हिसावले पनि छोराछोरीप्रति ध्यान पुगिरहेको हुँदैन । तर, नाति जन्मिने बेलासम्म ६०-६५ वर्ष भइन्छ । यो समयमा परिपक्व पनि भइन्छ । समय दिन सकिन्छ । त्यसैले भावनात्मक ढंगले छोराछोरीभन्दा नातिनातिनाप्रति मान्छेको स्नेह बढी हुँदो रहेछ । म आफैंले पनि अनुभूति गरेको छु । नातिसँग बस्ने, खेल्ने गर्दा चित्त प्रशन्न बनाएर तनाब व्यवस्थापन गर्न मद्दत पुग्दो रहेछ भन्ने पनि अनुभूति गरेको छु ।

    brbh.jpg

    नातिले पनि तपाईंलाई मिस गर्छन् होला नि ?

    त्यो बेला त अझै आइसकेको छैन । धेरै दिन कतै गएर आउँदा मलाई ‘हबा’ ‘हबा’ भन्छ । ऊ खुसी हुन्छ । हाँस्छ ।

    तपाईंकी छोरी (मानुषी) सानी हुँदा भूमिगत आन्दोलनमा हुनुहन्थ्यो । त्यसबेला छोरीलाई बाल्यकालमा समय दिन नपाएकोमा पछुतो छैन ?

    आफ्नो छोराछोरीको सबैलाई माया हुन्छ । साँच्चिकै भन्ने हो भने मानुषीप्रति हामीले अन्याय नै गरेको हो । २०४२ सालमा उनी जन्मिइन् । त्यतिबेला हामी क्रान्तिमा होमिने भनेर अठोट गरिसकेका थियौं । पूर्णकालीन रूपमा लाग्ने भनेरै मैले भारतमा पढ्दादेखि नै अठोट गरिसकेको थिएँ । छोरीलाई आमा हिसिलाले नै बढी हुर्काउने काम गरिन् । उनी विदेश पढ्न जाँदा पनि मानुषीलाई सँगै लिएर गइन् । हेर्ने मान्छे कोही नभएर आमाले सँगै लिएर गएकी हुन् ।

    जब हामी दुबै जना भूमिगत भयौं । त्यतिबेला मानुषी दश वर्षकी मात्रै थिइन् । त्यो अवधिमा उनलाई हामीले ध्यान दिन पाएनाै । अहिले फर्केर हेर्दा, मानुषीको ठिकै ढंगले विकास भएछ । उनको जुन ढंगको वैचारिक, राजनीतिक विकास छ त्यसमा उनको आफ्नै मेहनत छ । हुन त फलानाकी छोरी भनेर मान्छेले भन्न सक्छन् । हामीले उनको धेरै स्याहार सुसार र लालनपालन समय दिन पनि सकेनौं । उनले जुन ढंगले आफूलाई विकास गरेकी छिन्, हामी सन्तुष्ट नै छौं । छोरीलाई माया, ममता, स्याहारसुसार गर्न सकेनौं । अहिले नातिलाई खेलाउँदा वा ध्यान दिंदा आफूलाई पनि सुखानुभूति हुन्छ । २२ औं शताब्दीको नागरिक पैदा गर्नको निम्ति भूमिका निर्वाह गर्न पाउँदा गर्व महसुस भएको छ ।

    सन्तानका सम्बन्धमा साउँ भन्दा ब्याज प्यारो भन्ने भनाइ छ । आफ्ना छोराछोरीभन्दा नातिनातिना प्यारो हुने हो रहेछ ?

    सत्य हो । त्यसको कारण मैले मनोवैज्ञानिक नै भनें माथि । किनभने युवा अवस्थामा मान्छेलाई समय हुँदैन । अहिले बढी समय पनि हुन्छ । त्यसअर्थमा त्यस्तो हुन स्वभाविक पनि हो । तर, मेरो सोच भविष्यमुखी भएर पनि हो । २२ औं शताब्दीमा मानव कस्तो हुन्छ ? भन्ने अर्थमा पनि उसलाई मैले हेरिरहेको छु ।

    brbs.jpg

    बालबालिकामा भगवान हुन्छ भन्ने हाम्रो पुरानो भनाइ छ । अबोध बालबालिका उमेर बढेसँगै कसरी कठोर हुँदै जान्छन् ? यसबारे तपाईंको अनुभव के छ ? के हाम्रो शिक्षा प्रणाली वा सामाजिक संरचना यसमा दोषि हो ?

    हाम्रो शिक्षा र समाज खराब । अज्ञानता हो । प्रणाली पनि नबनेर हो । त्यसैले प्रत्येक मान्छेमा अन्तर्निहित सिर्जनसिल क्षमता चैं हुन्छ । त्यसैले हाम्रो, सन्तान, छोराछोरी, नातिनातिनादेखि लिएर सबै बालबालिकाहरूलाई उनीहरूको क्षमताको प्रस्फुटन अभिवृद्धिमा नै हामीले जोड दिने हो । माया ममता दिंदा पनि उनीहरू समग्र मानवको रूपमा विकास होउन भनेर दिने हो । मुख्यकुरा शिक्षा, स्वास्थ्य, पोषणमा लगानी गर्ने कुरा चैं अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले बालबच्चाहरू भनेका समाजका, मानजातिका पनि साझा सम्पत्ती हुन् । त्यसैले बाबु र आमाको मात्रै जिम्मा हो भनेर सोच्नुहुँदैन । उनीहरूलाई सामाजिक ढंगले नै हेर्नुपर्छ ।

    विकसित देशले बालबालिकाको सम्पूर्ण लगानीको जिम्मा राज्यले नै लिन्छ । हामीले पनि पुरै गर्न नसके पनि शिक्षा, स्वास्थ्य, पोषणको हकमा बालबालिका निम्ति राज्यले लगानी गर्नुपर्छ । त्यसरी मात्रै स्वस्थ र समृद्ध नागरिक बन्छ । देशको विकास हुन्छ । 

    brba.jpg

    यहाँले नातिको तस्बिर समाजिक सञ्जालमा राखेपछि सशस्त्र आन्दोलनसँग जोडेर कयौं कमेन्टहरू आउँछन् । यसबारे यहाँको धारणा के छ ? 
    त्यसप्रति वास्तै गर्दिन । कोही गलत कुराहरू, भ्रामक प्रचारवाजी र गालीगलौचमा उत्रन्छ भने त्यसलाई बेवास्ता गर्नु सबैभन्दा राम्रो कुरो हो भनिन्छ । यात्रामा हिंड्ने मान्छेले कुकुर भुक्यो भनेर कुकुरलाई ढुंगा हान्न थाल्यो भने आफ्नो गन्तव्यमा पुग्न सक्दैन् । त्यसैले मैले त्यस्ता कमेन्ट्सका मतलब गर्दिन ।

    हेर्दा पनि हेर्दिन । वास्ता पनि गर्दिन । शरीरमा विकार छ भने त्यो अभिव्यक्त हुन्छ । सार्वजनिक ढंगले कसैले वान्ता गर्छ भने उसको शरीरमा विकार छ भन्ने हो । मानसिक विकार छ, शरीरमा विकार छ, चिन्तनमा विकार भएकालाई वास्तै गर्नुहुँदैन ।

    समाजमा खराब प्रवृत्ति जहिले पनि हुन्छ । राम र रावण, कृष्ण र कंस यो त हाम्रै धर्मशास्त्रमा पनि थिए । त्यसैले त्यस्ता कंस, रावणहरु जो हुन्छन् तिनीहरूलाई हामीले मतलब गर्नुहुँदैन । ध्यान दिनुहुँदैन । हाम्रो यात्रा अगाडि बढ्ने हो । बाटो देखाउने हो । त्यसमा निरन्तर लाग्नुपर्छ । म त्यसमा दृढ छु । जसले क्रान्ति, परिवर्तनको सत्तोसराप गछर्न्, ती त प्रतिगामी तत्त्वहरू हुन् ।

    खासगरी नयाँ पुस्तालाई मेरो आग्रह छ, तपाईंहरूले विवेकपूर्ण ढंगले तथ्यलाई बुझ्नुपर्छ । हावामा बग्नु हुँदैन । सामाजिक सञ्जालकाे दुरुपयोग मानिसहरूले गरेका छन् । अस्वस्थ प्रवृत्तिका मानिसहरूले सार्वजनिक ढंगले फोहोर पार्छन्, त्यसबाट हामी बच्नुपर्छ । त्यसलाई तिरस्कार गरेर आफ्नो यात्रामा अगाडि बढ्नुपर्छ । यही सुझाव म सबैलाई दिन चाहन्छु । 

    सबै तस्बिर डा.बाबुराम भट्टराईको फेसबुकबाट 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij