वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेता तथा कार्यकर्तालाई स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् । जसपाको नागार्जुन नगरपालिका वडा नं १,२ र ३ को पार्टी समायोजन तथा समिति संगठन कार्यक्रममा बोल्दै डा.भट्टराईले यस्तो निर्देशन दिएका हुन् ।
‘निर्वाचनमा काठमाडौंबाट हामीले केही न केही परिणाम निकाल्नुपर्छ । अन्यत्रबाट जित हाँसिल गर्छौं । त्यो सम्भावना छ । काठमाडौंबाट निर्वाचनी परिणाम ननिकाल्ने हो भने हाम्रो पार्टीको राष्ट्रिय चरित्र बन्न गाह्रो हुन्छ । तपाईंहरू उच्च मनोबल राखेर अगाडि बढ्नुहोस् । वैकल्पिक पहिचान बनाउने, जनता, देशको निम्ति लड्ने, संघर्ष गर्ने र अग्रगामी चिन्तन राख्ने पार्टी जसपा हो । आफ्नै खुट्टामा उभिएर निश्चित ठाउँमा हामीले जित हाँसिल गर्न सक्नुपर्छ । तराई-मधेसमा हाम्रो राम्राे अवस्था छ । अन्यत्र ठिकठिकै छ । काठमाडौंमा सम्मानजनक उपस्थिति र केही ठाउँमा जित हाँसिल गर्न सक्ने हो भने आगामी निर्वाचनपछि निर्णायक शक्तिको रूपमा उदय हुने सम्भावना छ । त्यसलाई ध्यानमा राखेर तपाईंहरू तयारी गर्नुहोस् ।’ कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले भने ।
उनले वडा-वडामा हुने जनताका समस्यामा सबैभन्दा पहिलो आवाज उठाउन र समस्या समाधान गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘तपाईंहरू प्रत्येक घर-घरमा पुग्नुपर्छ । जहाँ समस्या छ त्यहाँ जनता समाजवादी पार्टी सबैभन्दा पहिला पुग्छ र हल गर्न सक्छ भन्ने यो बिम्ब हामीले प्रयोग गर्न सक्यौं भने जनताले हामीलाई निर्वाचनमा पत्याउँछन् । विश्वास गर्छन् ।’ डा.भट्टराईले भने ।
सो कार्यक्रमबाट वैकल्पिक राजनीतिको खोजीमा रहेका पूर्वप्रशासक चिरन्जीवी थापा जसपामा प्रवेश गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij