वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा सांसद डा.डिला संग्रौला पन्तले सडक दुर्घटना बढ्दै गएको चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले देशमा सडक दुर्घटना र तिनबाट ज्यान गुमाउने, घाइते र अपांग हुनेको संख्या बढिरहेको बताइन् ।
‘अझै पनि केही ठूला दुर्घटना भएमा यसको टालटुले समाधानका लागि निर्देशन गरेको सुनिन्छ । वर्षायामको सुरुवातसँगै दुर्घटनामा वृद्धि हुँदै दसैँ–तिहारसम्म यो उच्च विन्दुमा पुग्छ,’ डा.संग्रौलाले भनिन् ।
सडक दुर्घटना समस्याको दीगो समाधानका लागि जिम्मेवार निकाय कुन हो भन्दै उनले सरकारलाई प्रश्न गरिन् । उनले भनिन्, ‘ यस साझा, सामाजिक र जनस्वास्थ्य समस्याको दीगो समाधानका लागि केन्द्र वा संघमा कुन निकाय जिम्मेवार हो ? त्यसको संरचनागत र प्राविधक क्षमता के कस्तो छ ? प्रदेशस्तरमा सडक दुर्घटना रोक्न कुन–कुन निकाय जिम्मेवार छन् ? तिनमा कार्यरत जनशक्ति, प्राविधिक दक्षता र आवश्यक स्रोत व्यवस्थापनको स्थिति के छ ? के–के ले अवरोध गरेको छ ? यी प्रश्नहरूको अविलम्ब उत्तर आउने गरी र आगामी दसैँ–तिहारमा दुर्घटना कम भएको महसुस हुने गरी काम गर्न निर्देशन जारी गर्न सभामुखज्यूमार्फत सम्माननीय प्रधानमन्त्री ज्यूलाई अनुरोध गर्दछु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij