Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नर्भिक हस्पिटललाई संरचना हटाउन महानगरले समय दिने 

नर्भिक हस्पिटललाई संरचना हटाउन महानगरले समय दिने 

  • 326
    SHARES
  • नर्भिक हस्पिटललाई संरचना हटाउन महानगरले समय दिने 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलिस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ ।

    सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो ।

    काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार नर्भिक हस्पिटल परिसरको अवलोकनपछि २४ घण्टाभित्र सरकारी जग्गामा नियमविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए ।

    तर मंगलबार दिउँसो नर्भिक हस्पिटलले सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएर संरचना बनाएको बताएपछि अपरान्ह मेयर साह पुनः नर्भिक हस्पिटल पुगेका थिए ।

    सोही क्रममा मेयर बालेनसहित महानगर प्रतिनिधि र हस्पिटलका प्रतिनिधिबीच दुवै पक्षका प्राविधिकले दिएको सुझावका आधारमा संरचना हटाउने सहमति भएको हो ।

    अक्सिजन प्लान्ट र एमआरआई कक्ष रहेकाले यी संरचना हटाउन प्राविधिकले दिने समयभित्र हटाउन नर्भिक राजी भएको साहले बताए ।

    नर्भिकका प्रतिनिधिसँग मेयर बालेनले मन्त्रिपरिषदबाट जग्गा र संरचना बनाउन अनुमति दिनेगरी निर्णय गराएर नक्सा पास गरेको महामनगरलाई आपत्ति नरहेको पनि बताए ।

    आफूले नियम बमोजिम खोजेको र कानुन कार्यान्वयन तथा कानुनले कसैले विभेद गर्न नहुने पक्षमा रहेको मेयर साहको भनाइ छ ।

    नर्भिक हस्पिटलले भाडामा लिएको १ रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी टहरा बनाएकोले भत्काउनुपर्ने महानगरको अडान छ ।

    नर्भिक पुगेका मेयर बालेनले सरकारी जग्गामा नक्सा पास नगरिकन संरचना बनाउन नपाइने भन्दै हस्पिटलका प्रतिनिधिलाई बारम्बार सम्झाएका थिए ।

    त्यसपछि नक्सा पास गर्न आफूहरु तयार रहेको हस्पिटलका प्रतिनिधिले बताए । यसका लागि समय दिन माग गरेपछि दुवै पक्षका प्राविधिकले भनेअनुसार समय उपलब्ध गराउन मेयर साह सहमत भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij