Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कञ्चनजंघा संरक्षण क्षेत्रमा पशुबीमा कार्यक्रम

कञ्चनजंघा संरक्षण क्षेत्रमा पशुबीमा कार्यक्रम

  • 347
    SHARES
  • कञ्चनजंघा संरक्षण क्षेत्रमा पशुबीमा कार्यक्रम

    ताप्लेजुङ । हिउँ चितुवा, ब्वाँसो र हिमपहिरोका कारणले सधैं ठूलो क्षति व्यहोरिरहेका ताप्लेजुङको कञ्चनजंगा संरक्षण क्षेत्रका किसानले चौंरी र याकको बीमा दाबी बापत क्षतिपूर्ति पाउने छन् ।

    कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौंरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी बापत क्षतिपूर्ति पाउने भएका हुन् ।

    ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याक पशुपालनको मुख्य क्षेत्र हो । विगतदेखि नै हिउँ चितुवा, ब्वाँसो र हिमपहिरोका कारणले किसानको ठूलो आर्थिक क्षति हुनबाट बच्नका लागि पशुबीमा कार्यक्रम सुरु गरिएको छ ।

    कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने यी क्षेत्रमा पशुबीमाका लागि नेको इन्स्योरेन्स फिदिम शाखाका प्रमुख जयराम बाँस्कोटाका अनुसार पहिलो चरणमा गएको हप्ता ओलाङ्चुङ्गोलामा तीन सय ८३ वटा चौँरीको बीमा गरिएको छ । ओलाङ्चुङ्गोला बस्ती वरिपरि र माथिल्लो गोठ क्षेत्रमा रहेको याक र चौंरीहरूको बीमा गरिएको बाँस्कोटाले बताए ।

    ताप्लेजुङ सदरमुकामबाट एक दिनको गाडी यात्रा र दुई दिनको पैदल दुरीमा रहेको ओलाङचुङ्गोलामा याक, चौँरी र डी गरी चार सय ५० वटा रहेको कञ्चनजंघा संरक्षण क्षेत्रमा काम गरिरहेको समृद्ध पहाड परियोजनाका कार्यक्रमका सहायक चितेन चेम्जोङले जानकारी दिए ।

    ओलाङचुङ्गोलाकै याङ्मा, फक्ताङलुङ गाउँपालिकाको घुन्सा र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पशुहरुको बीमा गर्नका लागि नेको बीमा कम्पनीले सुरुवात गरेको हो।

    अहिले ओलाङचुङ्गोलामा करिब चार सय ५० वटा, याङ्मा क्षेत्रमा पाँच सय, घुन्सा क्षेत्रमा चार सय र याम्फुदिन क्षेत्रमा करिब दुई सय गरी कञ्चनजंघा संरक्षण क्षेत्रमा करिब एक हजार नौ सय पशुपालन रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत सञ्चालनमा रहेको समृद्ध कञ्चनजंघाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले बताए ।

    उनका अनुसार पशुबीमा कार्यक्रमका लागि सो परियोजनामार्फत प्रति पशु २०० को दरले प्राविधिक खर्च उपलब्ध गराएको छ । विगतमा सो क्षेत्रमा पशुबीमाका लागि बीमा कम्पनीहरू जान मानेको थिएन ।

    उनले भने, ‘भौगोलिकरूपमा दुर्गम भएको र सो क्षेत्रमा जाँदा प्राविधिक खर्च महँगो हुने भएकाले बीमा कम्पनी जान नसकिने बताउँदै आएको थियो । सो समस्यालाई समाधान गरी दुर्गम क्षेत्रहरूमा रहेको पशुहरूलाई पनि बीमा पहुँचमा पुर्‍याउने उद्देश्यका साथ सहयोग गरेका छौं ।’

    परियोजनाले आर्थिक वर्ष २०७९/८० मा सात सय वटा पशुका लागि बीमामा प्राविधिक सहयोग गर्ने र आगामी दिनमा यो सहयोग निरन्तर रहने परियोजनाले जनाएको छ ।

    नेको इन्स्योरेन्सका अनुसार ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र याम्फुदिन क्षेत्रमा पनि थप बीमा गरिनेछ तर त्यसका लागि कति संख्यामा पशुपालक किसानले बीमा गर्छन् । त्यसअनुसार मात्र काम गरिने कम्पनीको योजना छ ।

    ठूलो संख्यामा पशुहरू बीमा गरेको खण्डमा मात्रै त्यहाँसम्म पुगेर बीमा गरिने योजना रहेको कम्पनीले जनाएको छ । आफूहरूले पालेका पशुको बीमाका लागि आफूहरू पर्खेर बसेको घुन्सा निवासी पशु कृषक छेतेन डण्डु शेर्पाले बताए ।

    ‘हामी आफैँले बीमा कम्पनीलाई आह्पान गर्दा दुर्गम क्षेत्रमा प्राविधिक खर्च कृषकले नै व्यहोर्ने गरी मात्र आउने प्रस्तावका कारण ढिलाइ भएको थियो’, उनले भने, ‘अब भने संरक्षण क्षेत्रबाट बीमा कार्यक्रम आएपछि हाम्रा वस्तु भाउको बीमा हुनेमा निर्धक्क छौं ।’

    उता ओलाङचुङ्गोलामा ठुला गोठहरूमा रहेको सबै वस्तुको बीमा गरिएको घाङलुङ उपभोक्ता समितिका अध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । ओलाङचुङ्गोला र याङ्मा क्षेत्रमा रहेको सबै गोठका वस्तुको बीमा हुने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बूकाे भनाइ छ ।

    फेम्बूका अनुसार हाल पशुबीमा गर्दा जम्मा लाग्ने बीमा शुल्कको ८० प्रतिशत नेपाल सरकारले र बाँकी २० प्रतिशत मात्रै कृषकले तिनुपर्छ ।

    औषतमा एक लाख बीमांकको पशुको बीमा शुल्क पाँच हजार हुन आउँछ सो शुल्कमा ८० प्रतिशत सरकारले तिरिदिने भएपछि लगभग एक हजार बीमा शुल्क तिरेमा एउटा पशुको एक लाखको बीमा हुन्छ ।

    बीमा कम्पनीका अनुसार बीमा गरिएको पशुहरू जुनसुकै कारणले मरेको खण्डमा बीमांक बापतको रकम कृषकले पाउने छन् । बीमा शुल्क वार्षिकरूपमा बुझाउनुर्छ । बीमा नबुझाएमा स्वतः समय पुगेपछि बीमा निक्रिय हुनेछ ।

    पशु मरेको अवस्थामा पनि दाबी गर्नका लागि धेरै झन्झट पनि हुँदैन । स्थानीय मुचुल्का, वडाको सिफारिस, फोटो र भिडियो र कम्पनीको ‘ट्याक’ भए पुग्ने कम्पनीले जनाएको छ ।ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र पनि भएको हुनाले माथिल्लो क्षेत्रमा चोरी शिकारी प्रतिबन्ध छ ।

    सो क्षेत्रमा हिउँ चितुवा र ब्वाँसोले अत्यधिक क्षति गर्ने हुनाले पशुपालनको विकल्पमा अन्य व्यवसायमा पलायन हुने बढ्दो छ । वर्षैपिच्छे यहाँका गोठहरू विस्थापित हुने अवस्थामा छन ।

    विगतमा यस क्षेत्रको मुख्य व्यवसायकोरूपमा रहेको पशुपालन अहिले नगन्य मात्र रहेको पाइन्छ । वर्षेनी सयौं संख्यामा वन्यजन्तुले मार्ने र विभिन्न रोग र चरन व्यवस्थापनको अभावमा पशुमर्ने गरेका छन् ।

    त्यसैले बीमा कार्यक्रमले केही भएपनि पशुपालकलाई उत्साह छाउने अपेक्षा गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले अध्यक्ष खगेन्द्र फेम्बूले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij