Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

केराको बीमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

केराको बीमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

  • 426
    SHARES
  • केराको बीमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

    काठमाडौं । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् ।

    मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । बीमा बापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आबद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन् ।

    पटकपटक माग गर्दा पनि केराको बीमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । उनीहरुले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    समयमै केरा बीमाको रकम नपाएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसान साधुराम खरेलले बताए । उनले दुई दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रूपमा चरणबद्ध आन्दोलन गर्ने बताए ।

    त्यस्तै बीमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली काठमाडौं पुगेको छ । टोलीले आइतबार कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ ।

    तत्कालीन हिमालयन इन्स्योरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्योरेन्समार्फत निजगढका किसानले केरा खेतीको बीमा गरेका थिए । निजगढका किसानहरुले कम्पनीसँग बीमाबापतको करिब ६ करोड रूपैयाँ भुक्तानी लिन बाँकी छ ।

    सम्झौताअनुसार बीमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रूपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । गत वैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरुले सबै प्रकृया पूरा गरेर सोही समयमा बीमा रकम दाबी गरेका हुन ।

    गत वैशाख १६ गते वर्षासँगै आएको हुरीले ५ करोडभन्दा बढी मूल्य बराबरको केरा खेती नष्ट गरेको थियो । स्थानीय किसानका निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ ।

    हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन् । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

    IMG_20220927_140402.jpg

    IMG_20220927_134900.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij