वेबटिभी खबर
काठमाडौं । गत वर्ष अर्मेनिया र अजरबैजानबीच भीषण युद्ध भएको नागोर्नो काराबाख क्षेत्रमा फेरि तनाव उत्पन्न भएको छ । अजरबैजानले अर्मेनियका छ जना सैनिकलाई आफ्नो नियन्त्रणमा लिएको दुवै देशका रक्षा मन्त्रालयले पुष्टि गरेका छन् ।
अजरबैजानको रक्षा मन्त्रालयले बिहीबार केलबाजार क्षेत्रमा आफ्नो सिमाना पार गर्न खोजिरहेका अर्मेनियाली सेनालाई पक्राउ गरेको बताएको छ । अर्मेनियाका सैनिकहरुले अजरबैजानको सैनिक मार्गमा बारुदी विस्फोट गर्न लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
अर्कोतर्फ अर्मेनियाले आफ्ना सेनाहरु पूर्वी गेघरकुनिक क्षेत्रमा निर्माणको काम गरिरहेको भन्दै अजरबैजानको आरोप अस्वीकार गरेको छ । गेघरकुनिक अजरबैजानसँग जोडिएको इलाका हो । अर्मेनियाले आफ्ना सैनिकहरु फिर्ता ल्याउन आवश्यक कदम चालेको जनाएको छ ।
गत वर्ष सेप्टेम्बरदेखि छ सातासम्म चलेको युद्धमा छ हजारबढी मानिस मारिएका थिए । अर्मेनियाले नागोर्नो काराबाखमा आफ्नो एक भाग गुमाउन परेको थियो । युद्धपछि त्यहाँ लगभग २ हजार रुसका शान्ति सेना तैनाथ छन् ।
दुवै देश ४४०० वर्गकिलोमिटरमा फैलिएको नागोर्नो काराबाख क्षेत्र कब्जा गर्न चाहन्छन् । यस क्षेत्र अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको भए पनि त्यहाँ अर्मेनियाको जातीय समूहले ओगटेको छ ।
सन् १९९० मा त्यहाँका बासिन्दाले अजरबैजानबाट अलग भएर अर्मेनियाको समावेश भएको स्वघोषणा गरेका थिए, तर अजरबैजानले यसलाई अस्वीकार गर्यो । यसपछि त्यहाँ दुवै देशबीच पटकपटक द्वन्द्व हुँदै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij