काठमाडौं । भारतको हिमालय क्षेत्रको उच्च भेगमा रहेको हिउँले ढाकिएको एक दुर्गम उपत्यकामा मानिसहरुको सयौं कंकालले भरिएको ताल छ ।
रुपकुण्ड ताल, भारतको उत्तराखण्ड राज्यको सबैभन्दा अग्लो पहाडमध्येको एक त्रिशुल हिमालको काखमा समुद्री सतहबाट ५, ०२९ मिटरको उचाइमा अवस्थित छ । सन् १९४२ मा बेलायती फरेस्ट रेन्जर गस्ति जाँदा याे ‘कंकालको ताल’ पत्ता लगाएका थिए । त्यहाँ ती मानव कंकालहरु हिउँले पुरिएको अवस्थामा ताल वरिपरि छरिएका थिए ।
आजसम्म त्यहाँ करिब ६ सयदेखि ८ सय मानिसहरुको कंकाल भेटिएको छ । पर्यटन प्रवद्र्धनका लागि उत्तराखण्डकाे स्थानीय सरकारले यसलाई ‘रहस्यमीय ताल’ को रुपमा प्रचार गर्दै आएको छ । तर विभिन्न समयमा अध्ययनहरू भइरहे पनि त्यहाँ कसरी त्यतिका संख्यामा कंकाल थुप्रिए भनेर थाहा हुन सकेकाे छैन । आधा शताब्दिभन्दा बढी समय मानवशास्त्री तथा वैज्ञानिकहरुले अध्ययन गरे पनि यी कंकाल कसको थियो ? तिनीहरु को थिए, कहिले उनीहरुको मृत्यु भएको थियो र कसरी तिनीहरु मरेका थिए ? कहाँबाट उनीहरु त्यहाँ पुगेका थिए ? यी प्रश्नको उत्तर अझै पत्ता लगाउन सकेका छैनन ।
एउटा पुरानो कथनअनुसार करिब ८७० वर्षअगाडि त्यहाँ एक भारतीय राजा, रानी र उनीहरुका सेवकहरुको हिमपातका कारण मृत्यु भएको थियो । मौसममा निर्भर गर्दै, ताल धेरै जसो वर्षभर स्थिर रहन्छ, कहिले फैलिन्छ र कहिले खुम्चिन्छ। जब त्यहाँकाे हिउँ पग्लन्छ, ती कंकालहरु बाहिर देखिन थाल्छन् ।
अर्को भनाइ, सन् १९४१ मा तिब्बतमाथि आक्रमण गर्न हिँडेका भारतीय सैनिकहरुलाई त्यहाँ कुटपिट गरिएको मानिन्छ । तिनीहरुमध्ये ७० जनालाई घर जाने बाटो खोज्न बाध्य पारिएको थियो र उनीहरु बाटोमा नै मरेको बताइन्छ । योबाहेक महामारीमा मृत्यु भएका मानिसहरुलाई त्यहाँ गाडिएको थियो पनि भनिन्छ । त्यस क्षेत्रका गाउँहरुमा त्यहाँ एक लोकप्रिय गीत छ, कसरी नन्दा देवीले 'फलामजस्तै कठोर' हिउँको आँँधि उत्पत्ति गराएर कुण्डको किनारमा हिँडेका मानिसहरुलाई मारेकी थिइन् भनेर । भारतको दोस्रो अग्लो हिमाल नन्दादेवीलाई मानिसहरू देवीको रुप लिन्छन्।
ती कंकालबारे गरिएको अध्ययनले अधिकांश मानिस अग्लो कद भएका, मध्य उमेर ३५ देखि ४० वर्षसम्मका थिए । त्यहाँ कुनै पनि बालबालिका थिएनन । तीमध्ये केही महिला पनि थिए र सबैको स्वास्थ्य अवस्था राम्रो रहेको पत्ता लगाएको थियो । साथै ती कंकालहरु नवौं शताब्दिमा प्राकृतिक विपत्तिमा परेर एकैचोटि मरेका व्यक्तिहरुको समूह रहेको मानिएको छ ।
भारत, अमेरिका र जर्मनीका १६ वटा संस्थाका २८ लेखक सम्मिलित पाँच वर्ष लामो पछिल्लाे अध्ययनले अहिलेसम्म गरिएका सबै अनुमानहरु सत्य नभएको बताएका छन् । ती वैज्ञानिकहरुले आनुवंशिक रुपमा ३८ मानिसको विश्लेषण गर्दा त्यहाँ १५ महिलासहित केहीकाे मृत्यु करिब १२०० वर्षअगाडि भएको पत्ता लगाएका छन् । उनीहरुले ती मानिसहरुको फरक–फरक समयमा मृत्यु भएको पत्ता लगाएको दाबी गरेका छन् । यस अध्ययनका प्रमुख लेखक इडाइन हार्नीले भने, ‘रुपकुण्ड तालमा के भयो भनेर अझै स्पष्ट छैन, तर यी व्यक्तिको मृत्यु एउटा घटनाले मात्र नभएको कुरा हामी निश्चित गर्न सक्छौं ।’
तर अझ चाखलाग्दो कुरा के छ भने, आनुवंशिकी अध्ययनले मृत व्यक्तिहरु एकै समूहको नरहेको पाइएको छ, एउटा समूहको कंकाल हाल दक्षिण एसियामा बसोबास गर्ने मानिससँग आनुवांशिक गुण मिल्दोजुल्दो रहेको छ भने अर्को समूहको वर्तमान युरोपको ग्रिक टापुमा बस्ने क्रेट समुदायका मानिसहरुसँग मिल्ने रहेको पाइएको छ । दक्षिण एशियाबाट आएका मानिसहरु पनि एउटै समुदायका नभएको अध्ययनकर्ता बताउँछन् । उनीहरुसँग कुनै हतियार, व्यापारिक वस्तु भएको कंकाल रहेको स्थान वरपर भेटिँदैन । उक्त ताल हुँदै जाने बाटो पनि नभएकाले ती मानिस त्यहाँ कसरी पुगे भन्ने पत्ता लाग्न सकेको छैन । अध्ययनकर्ताले ती मानिसहरु कुनै रोग वा महामारीको शिकार भएको प्रमाण भेटेको छैन ।
तीर्थयात्राले मानिसहरु त्यस इलाकामा किन यात्रा गरिरहेका थिए भनेर वर्णन गर्न सक्छ । अध्ययनले देखाएअनुसार यस क्षेत्रमा तीर्थयात्राका भरपर्दो स्थलहरु १९ औं शताब्दिसम्म भएको देखिँदैन । र पनि स्थानीय मन्दिरहरुमा शिलालेखहरु आठौं र दशौं शताब्दिको बीचमा लेखिएको भेटिन्छ । केही वैज्ञानिकहरुले तीर्थयात्रामा गएका मानिसहरुको सामूहिक मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । तर कसरी पूर्वी भूमध्यसागरका मानिसहरु भारतको सबैभन्दा उच्च स्थानको तालमा पुगे ? यसको उत्तर कसैले भन्न सकिरहेको छैन ।
बिबिसी युकेबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij