Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

धारा जाेडेकाे चार वर्षसम्म आएन पानी

धारा जाेडेकाे चार वर्षसम्म आएन पानी

  • 287
    SHARES
  • धारा जाेडेकाे चार वर्षसम्म आएन पानी

    डडेल्धुरा । डडेल्धुराका दलित बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो ।

    अमरगढी-६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो ।

    यहाँ दुई सय ५० घरधुरी छन् । २०४२ सालमा खानेपानी योजना पुगेको थियो । चार वर्ष अगाडि पनि खानेपानीका लागि घरघरमा धारा निर्माण भएका थिए ।

    तर पुराना योजना जीर्ण हुँदै जानु र नयाँ योजना बजेट अभावका कारण सम्पन्न नहुँदा पानीको अभाव भएको वडा नं-६ का वडाध्यक्ष केवी ताम्राकारले बताए ।

    ‘अहिले गाउँमा नयाँ धारा छन् तर पानी आउँदैन’, अध्यक्ष ताम्राकारले भने । गाउँमा नयाँ धारा बने पनि पानी नआएपछि धारा जीर्ण बनेका स्थानीय बताउँछन् । २०७६ सालमा पनि अमरगढी नगरपालिकाले पाँच लाखको लागतमा १० वटा धारा बनाएको थियो ।

    छ किलोमिटर टाढाबाट पानीको पाइप विछ्याएर गाउँमा पानी पुर्‍याइए पनि मुहान टाढा भएकाले स्थानीयवासीले ठाउँ-ठाउँमा पाइप काट्दा नियमित पानी वितरणमा समस्या देखिएको वडाध्यक्ष ताम्राकारको भनाइ छ ।

    पूर्व वडाध्यक्ष गोविन्दराज भट्टले २०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन ट्यांकी मर्मत गरी पानी सञ्चालन गरिएको जानकारी दिए । ‘स्थानीयवासीले आफूलाई पायक पर्ने ठाउँमा पाइप काट्ने गरेको र लाइनको मर्मत नहुँदा धारामा निरन्तर पानी सञ्चालन हुन नसकेको हो’, भट्टले भने ।

    दुमडा, सिमल, भोजनेउटा गाउँ हुँदै पानीको पाइप लाइन छचोडा गाउँ पुर्‍याइएको छ । भट्टले भने, ‘कहिले दुमडा, कहिले, सिमल र कहिले भजनेउटा गाउँवासीले पाइपलाईन काटिदिँदा नियमित पानी वितरणमा समस्या भएको हो ।’

    खानेपानीको व्यवस्थापनका लागि आवश्यक बजेटको माग गरेपनि हालसम्म व्यवस्था हुन नसकेको अध्यक्ष ताम्राकारले बताए । स्थानीयवासी न्वला तथा अन्य खोलाको फोहर पानी प्रयोग गर्न बाध्य छन् ।

    सरकारी कार्याललयहरूका लागि दैनिक ट्यांकर पानी ढुवानी गरिन्छ । न्वला खोलामा पनि पर्याप्त पानी नहुँदा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।

    खाेलामा पर्याप्त पानी नहुँदा परिवारको एक जनाको काम दिनभर पानी भर्न ठिक्क हुने स्थानीय जयन्ती ताम्राकारले बताइन् । खानलाई धौधौ गरी पानी पुगाए पनि लत्ताकपडा धुन, सरसफाई गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

    ‘चुनावका बेला खानेपानीको व्यवस्था गर्ने, घरघरमै धारा बनाउने आश्वासन नेताहरूले दिए पनि चुनाव सकिएपछि समस्या समाधान भएको छैन’, स्थानीय ताम्राकारले भनिन् ।

    गर्मीयाम बढ्दै गर्दा दूषित पानीका कारण रोगको संक्रमण बढ्ने खतरा छ । छचोडासगैँ, अमरगढीका लटाउली, खन्मडा, मालम, हाट, तिलाडीलगायत नवदुर्गा गाउपालिकाका केही गाउँ र अजयमेरुका केही बस्तीमासमेत पानी अभाव हुने गरेको स्थानीय बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij