Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

चुरेबस्तीमा खानेपानी अभाव 

चुरेबस्तीमा खानेपानी अभाव 

  • 256
    SHARES
  • चुरेबस्तीमा खानेपानी अभाव 

    कञ्चनपुर । कञ्चनपुरको बेदको नगरपालिका-२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन।

    यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए । ‘यहाँ खानेपानीको ट्यांकी बन्न लागेको चार/पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन’, चौधरीले भने, ‘खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल परेको छ ।’

    उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या गरेको जानकारी दिए । खोलाबाट आएको दुई/तीनवटा धारा भएपनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए ।

    ‘जेठ/असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ’, चौधरीले भने, ‘पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ ।’

    पानी भर्नका लागि यहाँका साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताइन् । ‘पानीको अभावले खेतबारी सबै बाँझो छ गाईवस्तु पाल्न सकेका छैनौँ’, यशमतीले भनिन्, ‘खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता ।’

    पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताइन् । ‘हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता छ खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भएपनि उब्जनी गर्ने थियौँ ।’ अनिताले भनिन्, ‘नजिकै खाने पानीको ट्यांकी बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ ।’

    बेदकोट नगरपालिका-२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नयाँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए ।

    ‘यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ’, अध्यक्ष सिंहले भने, ‘बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो ।’

    उनले संघीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ १० करोड लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको जानकारी दिए ।

    ‘अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्’, अध्यक्ष सिंहले भने, ‘यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij