Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

शुक्लाफाँटामा खरमजुरको गणना

शुक्लाफाँटामा खरमजुरको गणना

  • 469
    SHARES
  • शुक्लाफाँटामा खरमजुरको गणना

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो ।

    नेपाल पन्छी संरक्षण संघका परियोजना सहायक हिरुलाल डगौराले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताए ।

    ‘यो विश्वकै अति संकटापन्न पन्छी हो’, डगौराले भने, ‘खरमजुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ ।’ उनले राष्ट्रिय रूपमा खरमजुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्यांक सार्वजनिक गरिने बताए ।

    खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उनले जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले एक सातासम्म निकुञ्जमा खरमजुर पाइने स्थानमा अध्ययन गरिएको बताए ।

    अधिकृत मेहताले भने, ‘संघले हाम्रो विभागमा रिपोर्ट बुझाएपछि मात्रै तथ्यांक सार्वजनिक गरिन्छ ।’ ग्रीष्मयामको सुरुआतदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय भएकाले यो समयमा खरमजुर निकुञ्जको घाँसेमैदानमा देख्न पाइन्छ ।

    निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, हरैया, लालपानी र अर्जुनी लगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरी गणना गरिएको थियो ।

    २०२१ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा आठवटा खरमजुर रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ चार सय ५४ प्रजातिका चरा रहेका छन ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij