Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

खोटाङको जनसंख्या पन्ध्र दशमलव शून्य तीन प्रतिशतले घट्यो

खोटाङको जनसंख्या पन्ध्र दशमलव शून्य तीन प्रतिशतले घट्यो

  • 267
    SHARES
  • खोटाङको जनसंख्या पन्ध्र दशमलव शून्य तीन प्रतिशतले घट्यो

    खोटाङ । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसंख्या घटेको छ ।

    २०६८ को जनगणनामा यहाँको जनसंख्या दुई लाख छ हजार तीन सय १२ रहेकोमा २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई सय ९८ रहेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा महिलाको संख्या ८८ हजार छ सय ६१ र पुरुषको संख्या ८६ हजार छ सय ३७ देखाएको छ ।

    २०६८ मा ४२ हजार छ सय ४७ घरपरिवार थियो भने दश वर्ष पछि गरिएको जनगणनामा घरपरिवार संख्या ४१ हजार सात सय ५० रहेको पाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा जनसंख्या वृद्धिदर घटेको छ ।

    तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका दशवटै स्थानीय तहको जनसंख्या घटेको जानकारी दिइएको हो ।

    नागरिकलाई गाउँमै रोजगार दिएर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावका कारण हरेक स्थानीय तहको जनसङ्ख्या घटेको तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महतोले बताए ।

    उनका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसङ्ख्या घटेको छ । राष्ट्रिय जनगणना २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५ दशमलव शून्य चार प्रतिशतले जनसङ्ख्या घटेको तथ्यांक कार्यालयले जनाएको छ ।

    २०६८ मा यहाँको जनसङ्ख्या २२ हजार चार सय ७४ रहेकामा २०७८ मा १६ हजार आठ सय ४६ मा झरेको छ । यस्तै १० वर्षको अन्तरालमा जन्तेढुंगा गाउँपालिकाको जनसङ्ख्या २२ दशमलव २० प्रतिशतले घटेको छ ।

    २०६८ मा १५ हजार चार सय ४४ जनसङ्ख्या रहेकामा २०७८ मा १२ हजार १६ जनसङ्ख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा २०६८ मा १४ हजार तीन सय ४९ जनसङ्ख्या रहेकामा उक्त सङ्ख्या २० प्रतिशतले घटेर ११ हजार तीन सय ९७ देखिएको छ ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनसङ्ख्या २०६८ मा २० हजार एक सय ७५ रहेकामा उक्त सङ्ख्या १९ दशमलव १८ प्रतिशतले घटेर १६ हजार तीन सय पाँचमा झरेको छ ।ऐसेलुखर्क गाउँपालिकामा १७ दशमलव ८९ प्रतिशतले जनसङ्ख्या घटेको छ ।

    २०६८ मा १६ हजार ९७ जनसङ्ख्या रहेकामा २०७८ मा १३ हजार दुई सय १७ कायम भएको छ । साकेला गाउँपालिकाको जनसङ्ख्या १७ प्रतिशतले घटेको छ । २०६८ मा ११ हजार पाँच सय ९४ थियो भने २०७८ मा नौ हजार छ सय २३ गणना भएको तथ्यांक अधिकृत महतोले जानकारी दिए ।

    त्यस्तै रावाबेँसी गाउँपालिकामा १६ दशमलगव २३ प्रतिशतले जनसङ्ख्या घटेर ११ हजार एक सय ९९ भएको छ । यहाँको जनसङ्ख्या २०६८ मा १३ हजार तीन सय ६९ थियो ।

    केपिलासगढी गाउँपालिकामा १३ दशमलव ४५ प्रतिशतले जनसङ्ख्या घटेको छ । २०६८ सालमा १५ हजार दुई सय ८८ जनसङ्ख्या रहेकामा २०७८ मा १३ हजार दुई सय ३१ मा झरेको छ ।

    हलेसी तुवाचुङ नगरपालिकाको जनसङ्ख्या आठ दशमलव ३१ प्रतिशतले घटेर २७ हजार ७८ जनसङ्ख्या गणना गरिएको छ । २०६८ मा यहाँको जनसङ्ख्या २९ हजार पाँच सय ३२ थियो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ दशमलव ३० प्रतिशतले जनसङ्ख्या घटेको छ । २०६८ मा ४६ हजार नौ सय तीन रहेकामा दश वर्ष पछि गरिएको जनगणनामा यहाँको जनसङ्ख्या ४३ हजार आठ जना देखिएको तथ्यांक कार्यालयले जनाएको छ ।

    स्थानीय तहहरूले बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । जिल्लामा सबैभन्दा बढी खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुँदा बसाइँसराइ हुने गरेको उनको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij