वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अगामी निर्वाचनमा तयारी बिना सत्ता साझेदार दल नेकपा एमाले जस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताएका छन् । आज पेप्सीकोलामा काठमाडौं ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको बताएका हुन् ।
राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाड्ने प्रचलन रहेको कारण समस्या भइरहेको उनले बताए । कोइरालाले भने, ‘अब उम्मेदवारी दिँदा कसले जित्नसक्छ भनेर उम्मेदवार खोज्नुपर्ने हुन्छ । टिकट बाँड्ने बेलामा आफ्नो मान्छेलाई टिकट बाँड्ने चलन नै छ । यसले हामीलाई बिगारिरहेको छ । अहिले सबै पार्टीहरु एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन् । हामीले त झन भनिनै रहेका छौं यो राजनीतिक दलहरुको रणनीतिक चाल हो । एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्यो नि । तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो ।’
उनले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनु परेको बताए । सहमति अुनसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले गर्ने जिकिर गरे।
‘उहाँहरुबिचको सहमति अनुसार दुई बर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो । तर, हामीहरुको प्रतिस्पर्धीं एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ । हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ । सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौं । हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ । होइन भने एमाले जस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ । यस्तो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ ।’कोइरालाले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij