वेबटिभी खबर
जनकपुर । सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक फिर्ताको मागसहित जनकपुरधाममा मओवादी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
आइतबार साझ जनकपुरधामको मुख्य प्रवेशद्वार रामानन्द चोकको बीचमै मसाल जलाएर सरकार विरुद्ध उनीहरुले प्रदर्शन गरेका छन् । संसदमा दर्ता भएको उक्त विधेयकले नागरिकको वाक स्वतन्त्रता, मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यतामा असर पार्ने भन्दै आफूहरु यो विधेयकको बिरोधमा आवाज उठाएको अखिल क्रान्तिकारीका पूर्वकेन्द्रिय सदस्य श्याम साहले बताए ।
प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूले नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने उनले खतरा औंल्याए । ‘बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइकवा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु हुँदैन’ साहले भने ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले विधेयकका विभिन्न प्रावधानमाथि आपत्ति जनाएका छन् ।
सरकारले यो विधेयकपास गरे आफूहरु अदालतमा रिट हाल्ने र तत्पश्चात पनि नभए सदन घेराउ गर्ने प्रदर्शनकारी साहले चेतावनीसमेत दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij