वेबटिभी खबर
काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा आज भएको आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार भएको छ ।
सेन्टर प्लाजामा आगलागी भएको थाहा पाएलगत्तै खटिएको सशस्त्र प्रहरीले ९ जनाको र संयुक्त सुरक्षा फौजले २ जनाको उद्धार गरेको हो ।
सेन्टर प्लाजाको चौथो तलामा आगलागी भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा १ सय ५ जनाको सुरक्षा फौज विपद् व्यवस्थापन सामग्रीसहित खटिएको थियो । आगलागीमा फसेका ९ जनाको सशस्त्र प्रहरीले रोप रेस्क्यु विधि प्रयोग गरी सकुशल उद्धार गरेको हो ।
आगलागी नियन्त्रण तथा उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ९ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij