वेबटिभी खबर
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विकसित जनताको बहुदलीय जनवाद (जबज) लाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुपर्नेमा जोड दिएकी छन् । शनिबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेसनको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै उनले जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्याउने एउटा आधिकारिक माध्यमको प्रयासको रूपमा प्रस्तुत गरेकी हुन् ।
भण्डारीले भनिन्, ‘यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्न सक्छ ।’ साथै भण्डारीले जबजले माक्र्सवाद र लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक विशेषतालाई आत्मसात गरेको बताइन् ।
‘समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समेट्दै जबजले एक विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ,’भण्डारीले भनिन् । उनले वर्गीय शोषण अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी र समान अवसर सुनिश्चित गरेर सबै नागरिकलाई सुखी र समृद्ध बनाउनु जबजको मूल मर्म भएको उल्लेख गरिन् ।
‘वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता प्रदान गर्दै सुखी र समृद्ध बनाउनुपर्छ,’भण्डारीले भनिन्, ’जबजको मूल भावना पनि यही हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij