वेबटिभी खबर
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकतामा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित संहिता दिवस, २०८३ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षा र आवश्यकताअनुसार कानुनलाई समयानुकूल बनाउँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले कानुन निर्माणसँगै त्यसको कार्यान्वयनको अवस्थाको अध्ययन तथा समीक्षा गरी आवश्यक सुधारका लागि सरकारलाई मार्गदर्शन गर्ने र संसदीय निगरानी गर्ने जिम्मेवारी पनि संघीय संसद्को रहेको बताए । सभामुख अर्यालले संघीय संसद् कानुन निर्माण गर्ने थलो मात्र नभई कानुनको प्रभावकारिता र कार्यान्वयनको समीक्षा गर्ने तथा नागरिकका आवश्यकता र आकाङ्क्षाअनुसार कानुनमा आवश्यक सुधार गर्ने प्रमुख संस्था भएको उल्लेख गरे ।
‘कानुन निर्माण र कार्यान्वयन कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी होइन,’ उनले भने, ‘व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, कानुन व्यवसायी, राष्ट्रसेवक कर्मचारी, प्राज्ञिक क्षेत्र, नागरिक समाज र आम नागरिकबीचको निरन्तर संवाद, सहकार्य र समन्वयबाट मात्र न्यायपूर्ण र प्रभावकारी कानुनी प्रणाली निर्माण गर्न सकिन्छ ।’ कानुन नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने माध्यम भएको उल्लेख गर्दै सभामुख अर्यालले कानुनको वास्तविक उद्देश्य प्रभावकारी कार्यान्वयनबाट मात्र पूरा हुने बताए । उनले कानुनको गुणस्तर सुधारसँगै त्यसको प्रभावकारी कार्यान्वयन, न्यायिक तथा प्रशासनिक संस्थाको सुदृढीकरण र नागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले कानुनको भाषा सरल, स्पष्ट र नागरिकले सहज रूपमा बुझ्न तथा व्यवहारमा प्रयोग गर्न सक्ने हुनुपर्ने बताए । कानुनी प्रावधानले जात, धर्म, लिङ्ग, वर्ग वा अन्य कुनै आधारमा हुने विभेदको अन्त्य गर्दै प्रत्येक व्यक्तिको मौलिक हक, स्वतन्त्रता र मानव अधिकारको सम्मान तथा संरक्षण सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । सभामुख अर्यालले मुलुकी देवानी संहिता, मुलुकी अपराध संहिता लगायतका संहिताहरूको कार्यान्वयन नेपालको कानुनी इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताए । संहिताहरूले नेपालको देवानी तथा फौजदारी कानुनलाई समयानुकूल, व्यवस्थित र आधुनिक बनाउँदै न्याय प्रणालीलाई थप सुदृढ गर्ने आधार तयार गरेको उनले उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij