Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

३५ वर्षको बेथिति र भ्रष्टाचारको घाउ रास्वपाले उपचार गर्दैछ : सांसद टीका संग्रौला

३५ वर्षको बेथिति र भ्रष्टाचारको घाउ रास्वपाले उपचार गर्दैछ : सांसद टीका संग्रौला

  • 150
    SHARES
  • ३५ वर्षको बेथिति र भ्रष्टाचारको घाउ रास्वपाले उपचार गर्दैछ : सांसद टीका संग्रौला

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको भन्दै प्रतिपक्षी दलका सांसदहरूप्रति आक्रोश व्यक्त गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संग्रौलाले जनताले परिवर्तन र नयाँ नेतृत्वको पक्षमा मतदान गरेकाले रास्वपा सरकारमा आएको दाबी गरिन्। उनले चुनावमा रास्वपाले १८२ सिटसहित बहुमत प्राप्त गरेको बताउँदै सरकारको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउनुको अर्थ नरहेको बताइन् । 

    संग्रौलाले भनिन्, ‘यो पटक प्रष्ट रूपमा अन्धकार, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको खोल ओडेर देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन। एल्गोरिदमले नयाँ हे¥यो, युवा हे¥यो, सम्भावना हेर्‍यो अनि परिवर्तनको घण्टी बजायो।’ संग्रौलाले वर्तमान सरकारले विगत लामो समयदेखि रहेको बेथिति र भ्रष्टाचारको उपचार सुरु गरेको दाबी गरिन् । सरकारका कामका क्रममा केही समस्या र आलोचना आउन सक्ने भन्दै उनले त्यसलाई उपचारका क्रममा घाउ चिर्ने, सिलाउने र मिलाउने प्रक्रियासँग तुलना गरिन् । उनले भनिन्, ‘३५ वर्षको बेथिति र भ्रष्टाचारको चोटलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले, यो सरकारले उपचार गर्न सुरु गरिसकेको छ । उपचार गर्ने क्रममा कतै चिर्नुपर्ने, कतै सिलाउनुपर्ने, कतै मिलाउनुपर्ने हुन्छ ।’

    उनले भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजलाई ‘क्यान्सर’को संज्ञा दिँदै त्यसबाट देशलाई मुक्त गराउने सरकारको उद्देश्य रहेको बताइन् । संग्रौलाले विगतका सरकारको आलोचना गर्दै तत्कालीन सरकारको नेतृत्वमा भएका घटनामा ज्यान गुमाएका नागरिकका परिवारले अझै दुःख भोगिरहेको अवस्थामा फेरि पुरानै नेतृत्वले सरकार सञ्चालन गर्ने दाबी गर्नु आश्चर्यजनक भएको टिप्पणी गरिन् । उनले भनिन्, ‘भदौ २३ र २४ गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवाआमाहरू बरखी बारेर बसिरहनुभएको छ । उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन । कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँहरूले भनिरहनुभएको छ ?’

    बैठकमा प्रधानमन्त्रीले लगाउने कालो चस्माबारे हुने टिप्पणीप्रति पनि उनले व्यंग्य गरिन् । उनले चिनियाँ नेता देङ स्याओपिङको भनाइ उद्धृत गर्दै बिरालो कालो वा सेतोभन्दा पनि मुसा मार्न सक्ने हुनुपर्ने तर्क प्रस्तुत गरिन्। उनले भनिन्, ‘प्रधानमन्त्रीले कालो चस्मा लगाए पनि, सेतो चस्मा लगाए पनि, यो देश बनाइदिनुभयो भने पुगेन र सभामुख महोदय ?’ प्रधानमन्त्रीको चस्माभन्दा प्रतिपक्षी दलहरूको नियतमाथि प्रश्न उठाउनुपर्ने उनको भनाइ थियो। ‘त्यसकारण अब प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षी दलका सम्माननीय ज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्,’ उनले भनिन्। संग्रौलाले सरकारलाई काम गर्न दिनुपर्ने र सकारात्मक कामको समर्थन तथा नकारात्मक कामको आलोचना गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा समेत जोड दिइन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij