Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

  • 64
    SHARES
  • विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्य सही भएको बताए ।

    उनले विद्युत् निर्यात सकारात्मक उपलब्धि भएपनि नेपालको ऊर्जा क्षेत्रका अन्य चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री श्रेष्ठले भने, ‘आर्थिक वर्ष २०८२/०८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्य सही हो । तर विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन ।’ मन्त्री श्रेष्ठका अनुसार नेपालको जलविद्युत् उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि उच्च हुने गर्छ । वर्षायाममा आन्तरिक मागभन्दा बढी विद्युत् उत्पादन हुने भए पनि स्वदेशमै खपत गर्ने पर्याप्त पूर्वाधारको अभावमा विद्युत् खेर जान नदिन भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको उनले बताए।

    उनले सुख्खायाममा भने नदीमा पानीको बहाव घट्दा विद्युत् उत्पादन कम हुने भएकाले अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारे। मन्त्री श्रेष्ठले भने, ‘नेपालको जलविद्युतको उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएकोले वर्षायाममा पानीको बहाव बढेसँगै उत्पादन उच्च हुन्छ । सो समयमा स्वदेशी मागभन्दा बढी विद्युत् उत्पादन हुने भएकोले आन्तरिक खपतको पर्याप्त पूर्वाधार नहुँदा विद्युत् खेर जान नदिन भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहन्छ। अर्कातर्फ सुख्खा समयमा उत्पादन घट्ने भएकाले अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ ।’ उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो। यसले नेपालमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ।

    मन्त्री श्रेष्ठले विद्युत् निर्यात र स्वदेशी विद्युत् आपूर्तिलाई एकअर्काको विरोधाभासका रूपमा बुझ्न नहुने बताए । उनले ऊर्जा क्षेत्रका समस्या उत्पादन, प्रसारण र वितरण प्रणालीसँग सम्बन्धित छुट्टाछुट्टै चुनौतीका रूपमा बुझेर समाधान गर्नुपर्नेमा जोड दिए। मन्त्री श्रेष्ठले आगामी दिनमा स्वदेशी विद्युत् खपत बढाउने पूर्वाधार विस्तारसँगै प्रसारण तथा वितरण प्रणालीको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए। नेपालमा उत्पादन हुने विद्युत्को दिगो व्यवस्थापनका लागि आन्तरिक खपत विस्तार र अन्तर्राष्ट्रिय बजारमा निर्यात दुवैलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij