Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

जाजरकोट पहिरो प्रभावितको उद्धारमा सरकारले बेवास्ता गर्‍यो : सांसद विक

जाजरकोट पहिरो प्रभावितको उद्धारमा सरकारले बेवास्ता गर्‍यो : सांसद विक

  • 81
    SHARES
  • जाजरकोट पहिरो प्रभावितको उद्धारमा सरकारले बेवास्ता गर्‍यो : सांसद विक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले जाजरकोटमा गएको पहिरोबाट प्रभावित नागरिकहरू बिचल्लीमा पर्दासमेत सरकारले बेवास्ता गरेको भन्दै तत्काल उद्धार, राहत र आवश्यक व्यवस्थापन गर्न माग गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद विकले विपद्मा परेका नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताइन् ।

    उनले अहिले जाजरकोटमा ८२४ जना तीन वटा होल्डिङ सेन्टरमा राखिएको जानकारी दिँदै त्यहाँ १०८ जना बालबालिका रहेको बताइन् । प्रभावित बालबालिका विद्यालय जान नपाएको, घाइतेको उपचारमा समस्या भएको तथा खाद्यान्नको अभाव भइरहेको उनले बताइन् । सांसद विकका अनुसार प्रभावितहरू प्लास्टिकलाई पाल बनाएर बस्न बाध्य छन् । होल्डिङ सेन्टरमा रहेका ६ जना सुत्केरी र पाँच जना गर्भवती महिलाको अवस्था निकै दयनीय रहेको उनले बताइन् ।

    उनले भनिन्, ‘अहिले त्यहाँ ६ जना सुत्केरी छन्, उनीहरूको अवस्था बिजोग छ । पाँच जना गर्भवती महिला छन् । उनीहरू होल्डिङ सेन्टरबाहेक कतिपय आफन्तको घरमा बस्नुपरेको छ ।’ विपद् प्रभावित नागरिकलाई तत्काल खाद्यान्न, सुरक्षित आवास, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्नेमा सरकार मौन बसेको भन्दै उनले प्रश्न गरिन् । ‘यो निकै गम्भीर विषय बनेको छ । यस्तो अवस्थामा सरकार किन चुप लागेर बसेको छ ? नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो कि होइन ? वा उनीहरूलाई त्यही पहिरोमा परेर मर्न दिनुपर्ने हो वा उद्धार गर्नुपर्ने हो ?’ उनले प्रश्न गरिन् । सांसद विकले जाजरकोट पहिरो प्रभावितको अवस्था तत्काल सम्बोधन गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij