Logo

२०८३, भाद्र ६ गते शनिवार

२०८३, भाद्र ६ गते शनिवार

गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

  • 84
    SHARES
  • गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

    काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक प्राडा आशिष गोविन्द अमात्यले केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रख्यात मुटुरोग उपचार केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार केन्द्रमा आयोजित स्वागत, बधाई, सम्मान तथा विदाइ कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अमात्यले विगतदेखि केन्द्रले गर्दै आएको कामलाई निरन्तरता दिँदै नयाँ विचार र योजनासहित अघि बढ्ने बताए ।

    उनले मुटुरोगका बिरामीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको जनाए । निर्देशक अमात्यले भने, ‘विगत ३० वर्षदेखि चल्दै आएको यो संस्थामा उहाँहरूले राख्नुभएका विचारमा अझै पनि हामी अरू विचारहरू थप्नेवाला छौं। यी विचारहरूले नै एउटा विश्वास जगाउनेछ र हाम्रा मुटुरोगका बिरामीलाई हामी अझ राम्रो सेवा दिने विचार गरेका छौं ।’ गंगालाल आजको अवस्थामा पुग्नुमा कर्मचारी तथा चिकित्सकहरूको मेहनत र योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अमात्यले सबैको सहकार्यबाट केन्द्रलाई अझ उच्च संस्थाका रूपमा विकास गर्न सकिने बताए ।

    ‘गंगालाल आज जहाँ छ, त्यो हामी सबैले गर्दा नै हो। हजुरहरूकै परिश्रम र कामले गर्दा आज हामी यहाँ आइपुगेका छौं। यही कामबाट नै हामी अगाडि बढ्नेछौं र गंगालाललाई योभन्दा पनि अझ उच्च संस्थाका रूपमा देखाउन सक्छौं,’ उनले भने । मुटुरोग विशेषज्ञका लागि गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको पनि उनले बताए ।

    अमात्यले समय परिवर्तनशील हुने भन्दै पूर्व कार्यकारी निर्देशकहरुको योगदानलाई आगामी दिनमा पनि सम्मान गरिने जनाए । ‘समय यस्तै हो, समयले कसैलाई कुर्दैन र हामी अगाडि बढ्दै जान्छौं। यहाँ पाल्नुभएका र आज बिदाइ हुन लाग्नुभएका पूर्व कार्यकारी निर्देशकलाई हामी परिवारकै रूपमा लिनेछौं । उहाँको पद सकिए पनि उहाँको योगदानलाई सधैं कदर गर्दै हामी अगाडि बढ्नेछौं,’ उनले भने । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य गत साउन २२ गते नियुक्त भएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij