Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भएपनि पार्टी अघि बढेको छ: रवि लामिछाने

पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भएपनि पार्टी अघि बढेको छ: रवि लामिछाने

  • 61
    SHARES
  • पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भएपनि पार्टी अघि बढेको छ: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भएपनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन् । रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।

    लामिछानेले भने, ‘आज यो हाम्रो छलफल हो, संसदीय दलको बैठक होइन । राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कुनै न कुनै विषयमा कसैको कुरा बोल्दा चिप्लिन सक्ला । धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक-दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ, त्यस्तो केही छैन ।’ लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताए ।

    संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा आवश्यक भएको उनको भनाइ थियो । उनका अनुसार सरकार, मन्त्रालय र मन्त्रीहरूका विषयमा पार्टी पंक्तिभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि आन्तरिक छलफल गरिएको थियो । ‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ । त्यसअर्थमा संसदमा मर्यादित ढंगले प्रस्तुत हुने, संसदमा उठ्ने विषय वस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषय हुनेलगायत सबै कुरामा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौं,’ उनले भने ।

    यसैगरी प्रधानमन्त्री बालेन शाहसँग सम्बन्ध बिग्रीएको चर्चालाई उनले खण्डन गरे । प्रधानमन्त्रीले एक्लै लडिरहेको भनेर लेखेको स्टाटसबारे पनि पत्रकारले सोधेका थिए । लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरे । उनले भने,‘दुईजनाबीच झगडा पर्‍यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो । यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन । यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij