Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस मनाइँदै

  • 43
    SHARES
  • आज विश्व मधुमेह दिवस मनाइँदै

    काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना फैलाउने, यसको जोखिम न्यूनीकरण गर्ने तथा समयमै पहिचान र उपचारको महत्त्वबारे जानकारी गराउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । २०२६ को विश्व मधुमेह दिवसको नारा ‘अर्ली एक्सन अन डायबिटिज’ अर्थात् मधुमेहविरुद्ध समयमै कदम भन्ने रहेको छ । यस वर्षको अभियानले रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र टाइप-२ मधुमेहको जोखिम घटाउने उपायमा जोड दिएको छ ।

    अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार विश्वभर ५८ करोड ९० लाख वयस्क मधुमेहबाट प्रभावित छन् । तीमध्ये करिब २५ करोड २० लाखलाई आफूलाई मधुमेह भएको जानकारी छैन । मधुमेह भएका ४० प्रतिशतभन्दा बढी व्यक्तिमा रोग पहिचान नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मधुमेह हुँदा रगतमा चिनी (ग्लुकोज) को मात्रा सामान्यभन्दा बढी हुन्छ । समयमै पहिचान र उपचार नभए यसले मुटु, मिर्गौला, आँखा तथा स्नायुमा असर पुर्‍याउन सक्छ । मधुमेहका सामान्य लक्षणमा अत्यधिक तिर्खा लाग्ने, पटक पटक पिसाब लाग्ने, थकान महसुस हुने र आँखा धमिलो देखिने रहेका छन् । टाइप-२ मधुमेह भने सुरुआती अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिई पनि विकास हुन सक्छ ।

    स्वास्थ्यकर्मीका अनुसार मधुमेहको जोखिम पहिचान गर्न नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, स्वस्थ जीवनशैली र शरीरको तौल नियन्त्रणले टाइप-२ मधुमेहको जोखिम घटाउन सहयोग पुर्‍याउँछ । विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले २०३० सम्म मधुमेह भएका ८० प्रतिशत व्यक्तिमा रोग पहिचान गर्ने लक्ष्य लिएका छन् । त्यसका लागि सहज परीक्षण सेवा, समयमै निदान र उपचारमा सबैको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । १९९१ देखि हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउन थालिएको हो । इन्सुलिनको खोजमा महत्त्वपूर्ण योगदान पुर्‍याएका वैज्ञानिक फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसर पारेर यो दिवस मनाइन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij