याङगुन । म्यान्मारका सैन्य शासकले अपदस्थ नेत्री आङ सान सुकीले सरकारमा हुँदा अवैध तरिकाबाट केही सुन र छ लाख अमेरिकी डलर लिएको आरोप लगाएका छन् । सेनाले सुकीविरुद्ध लगाएको यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।
सेनाले सुकीले पैसा लिएको भन्ने आरोप स्वीकार गरेको समेत दाबी गरेको छ । बिहीबार केही सैन्य शासकले प्रेस सम्मेलन गरेर सुकीमाथि अवैध रकम लिएको आरोप लगाएका हुन् । तर यसबारे सेनाले कुनै प्रमाण पेश गरेको छैन ।
प्रेस सम्मेलनको क्रममा ब्रिगेडियर जनरल जा मिन तुनले म्यान्मारका राष्ट्रपतिसहित केही मन्त्रीलाई भ्रष्टाचारको आरोप पनि लगाएका छन् । म्यान्मारमा सन् २०२० को नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले फराकिलो जीत हासिल गरेको थियो तर सेनाले सुकीको पार्टीले चुनावमा धाँधली गरेको भन्दै सत्ता आफ्नो नियन्त्रणमा लिएको छ ।
मिन तुनले भने, ‘सेनाले चुनावी अनियमितताबारे आफ्नो प्रतिवेदन पठाएको थियो तर म्यानमारका राष्ट्रपतिले निर्वाचन आयोगलाई यस सम्बन्धमा कुनै कारवाही नगर्न आग्रह गरेका थिए ।’ तर म्यानमारको निर्वाचन आयोगले सेनाको यो दाबीलाई गलत भएको बयान गरेको छ। उही समयमा स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले म्यानमारको आम चुनावमा कुनै अनियमितता नदेखिएको बताएका थिए ।
सेनाले यसभन्दा अगाडि सुकीले अवैध तरिकाले सञ्चार सेट वाकीटकी लिएको आरोप लगाइसकेको छ । म्यान्मारका सैन्य शासकले हालसम्म सुकीलाई गिरफ्तार गरेर कहाँ राखेका छन् भनेर खुलाएका छैनन ।
सेनाले प्रेस सम्मेलनमा देशका अधिकांश सहरमा जारी हिंसाबारे केही उल्लेख गरेनन् । तर त्यहाँमा मुख्य सहरहरुमा लगातार लामो समयदेखि सेनाविरुद्ध प्रदर्शन चर्किरहेको छ । प्रहरीको गोली लागेर दर्जनौं नागरिकले ज्यान गुमाइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij