वेबटिभी खबर
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २ सय १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । अस्पष्ट नम्बर प्लेट भएका सवारी विरुद्ध महाशाखाले चलाएको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १ सय ६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो ।
सरकारले तोकेको ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाइ नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बंग्याइएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरूविरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।
विशेष गरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलहरूले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउनसमेत समस्या हुने गरेको एसएसपी भट्टराईले जानकारी दिए । तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँच सय रूपैयाँदेखी एक हजार पाँच सय सय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij