Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]

गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]

  • 4.5K
    SHARES
  • गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]

    पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई महिनामा एक पटक गृहजिल्ला गोरखा पुग्छन् । आफ्ना मतदाता र जनतासँग जोडिन उनले महिनामा एक पटक गाेरखा जाने उद्घोष गरेका थिए । यो प्रयासले उनलाई जनतासँग जोड्नुका साथै गोरखाको समग्र विकास अवस्थाबारे पनि जानकारी राख्न मद्दत पुगेको छ । देशको अर्थमन्त्रालय हाँकेका, प्रधानमन्त्री चलाइसकेका र पढाइले इन्जिनीयर डा.भट्टराईको विकाससम्बन्धी दृष्टिकोण पनि फराकिलो छ । प्रस्तुत छ उनीसँग गोरखाको विकाससँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

    images

    तपाईंको बुझाइमा गोरखा कस्तो जिल्ला हो ?

    जिल्ला प्रशासनिक इकाइको नाम हो । हाम्रो संविधानअनुसार स्थानीय तहरूकोे संयोजन गर्ने भूमिकाको रूपमा मात्रै जिल्ला छ । जिल्लागत रूपमा भन्दा भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक, जनसांख्कि हिसावले गोरखालाई बुझ्नु उपयुक्त हुन्छ । भौगोलिक रूपमा गोरखा नेपालको पूर्व-पश्चिमको हिसावले मध्यभागमा छ । उत्तर-दक्षिणको हिसावले पनि उत्तर र दक्षिण फैलिएको हिमाली भेग र हिमाल पारिको पनि झन्डै एक तिहाइ भाग हुँदै महाभारत शृङ्खलासम्म जोडिएको प्राकृतिक विविधता र जलवायुपूर्ण जिल्ला एकातर्फ हो ।

    ऐतिहासिक हिसावामा, वर्तमान नेपाल राज्यको उद्गम थलो नै गोरखा हो । जातिय विविधता पनि छ । गोरखाको उत्तरी भू-भागमा तमु जातिले बसोवास गर्ने । महाभारत भेगमा मगर जातिहरू र बीचमा खसआर्य, दलितलगायतका समुदाय बसोबास गर्ने क्षेत्र हो । राजनीतिक रूपमा हेर्दा सामन्तवादी युगमा राज्य विस्तारको काम गोरखाबाट सुरु भयो भने लोकतान्त्रिकरणको युगको चेतनाको विजारोपण पनि गोरखाबाटै भयो ।

    लखन थापा मगरले जंगबहादुर राणाको पालादेखि नै विद्रोहको बिउ रोपे । पछि माओवादी जनयुद्धको प्रमुख थलोमध्येको बन्न पुग्यो गोरखा । संविधानसभाबाट संविधान बनाउने क्रममा निर्वाचनहरू भए । ती निर्वाचनमा पनि सबभन्दा बढी अग्रगामी शक्तिहरूको प्रभाव भएको जिल्ला गोरखा नै स्थापित भयो ।

    यसरी भौगोलिक, ऐतिहासिक, राजनीतिक रूपले गोरखाको विशिष्ट पहिचान छ । आर्थिक, सामाजिक, सांस्कृतिक ढंगले पनि नेपालको औसत परिचय हो । कृषिप्रधान अर्थतन्त्र, पहाड र टारहरूले भरिएको, पिछडीएको अर्थतन्त्र र सामाजिक र साँस्कृतिक अर्थतन्त्रको रूपमा पनि अत्यन्त विविधतायुक्त जिल्ला हो गोरखा । समग्रमा हेर्दा गोरखा समग्र नेपालको नै सानो मोडेल हो भनेर बुझ्दा उपयुक्त हुन्छ ।

    तपाईं आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्र महिनाको एक पटक जानुहुन्छ । किन ?

    लोकतन्त्रलाई जनतासँग जोडेर लैजानुपर्छ । लोकतन्त्र भनेको जनताले प्रत्यक्ष रूपमा आफ्नो शासन व्यवस्था आफैं सञ्चालन गर्ने विधि हो । हामी जनताबाट निर्वाचित प्रतिनिधि भनेका जनताप्रति पूर्णरूपले उत्तरदायी हुनुपर्छ । मलाई २०६४ सालमा भएको निर्वाचनमा देशभरीकै सबैभन्दा बढी मत र मतान्तरले जनताले जिताउनु भयो । त्यहि दिनमा गोरखाबाट नै घोषणा गरेको थिएँ- प्रत्येक महिना म गोरखा आउँछु । जतिबेलादेखि गोरखाबाट निर्वाचित हुुँदै आइरहेको छु, निरन्तर म गएको छु ।

    कोरोना कहरका कारण प्रत्येक महिना जान गाह्रो भयो । २/३ महिना बिराएर म गएँ । तर, पछिल्ला दिनहरूमा २/३ पटक पुगेर त्यसको क्षतिपूर्ति गरें । औसतमा ०६४ सालदेखि ०७८ सासम्म १४ वर्ष गोरखा प्रत्येक महिना पुगेको छु ।

    केही हप्ताअघि मात्रै पार्टीले थालेको देशव्यापी सुज अभियानको समापन गोरखामा गरेर फर्किनुभयो । यो अभियान कत्तिको फलदायी रह्यो ?

    अत्यन्तै फलदायी रह्यो । जनतासँग राजनीति जोडिनुपर्छ र जनताका प्रतिनिधि जोडिनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहन्थें । कसैप्रति आरोप लगाउन चाहन्न । क्रान्ति र आन्दोलनबाट आएका नेताहरूको नै सम्भ्रान्तिकरण भएर गयो । नेताहरू ठूला महलहरूमा बस्ने, सेवासुविधा मात्रै प्रयोग गर्ने र वास्तविक भुइँ तहका जनताका बीचमा नजाने प्रवृत्ति बढ्दै गएको छ । त्यसबाट अत्यन्तै चिन्तित छु ।

    गोरखाको विकास योजनाले देशकै विकास योजनाको एउटा चित्र प्रस्तुत गर्छ ।

    म प्रधानमन्त्री छँदा प्रत्येक महिना विकट क्षेत्रका गरिबहरू, दलितहरूका घरमा गएर बस्ने चलन बसालेको थिएँ । अहिले सुज अभियानको क्रममा गोरखाका सबै ठाउँमा गएँ । ११ वटा गाउँपालिका, नगरपालिकामध्ये  चुमनुब्री जान सकिएन । चुमनुब्री हिमाल पारी पर्छ । त्यहाँ जाने पैदल बाटोसमेत भत्किएको छ । बाटोकै कारण त्यहाँ पुग्न सकिएन । १० वटा गाउँपालिका र नगरपालिकामा पुगें । कतिपय ठाउँमा बाटो नै पुगेको छैन । पैदल हिंडेर गएँ । त्यसअर्थमा यसले जनतासँग प्रत्यक्ष जोडिन, भुइँ तहका जनताका समस्याहरूलाई बुझेर राष्ट्रिय रूपमा स्थापित गर्न र आफूले पनि त्यसलाई अझ गहिराइबाट बुझ्न मद्दत पुगेको अनुभूति गरेको छु ।

    drba.jpg

    जसपा या भनौं व्यक्तिगत रूपमा तपाईंको यो अभियानबाट अन्य राजनीतिक दलले के प्रेरणा लिनुपर्छ भन्ने लाग्छ ?

    म आफैं सिक्नको निम्ति हिंडेको हुँ । शान्ति प्रक्रियामा आएर संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी पुगेको पनि १५ वर्ष भैसक्यो । संविधान जारी गरेको पनि ७ वर्ष भैसक्यो । यसरी हेर्दा जनताको जीवनस्तरमा अहिले पनि खासै अन्तर आउन सकेको छैन । यो कुरामा मेरो सामान्य ज्ञान त थियो तर अहिले उत्तरी गोरखाका विकट ठाउँहरूमा पुगें । धार्चे गाउँपालिकाको माछीखोला हुँदै गुम्दा, वारपाक, लाप्राक, पुगेर फेरि बालुवा झरें । पालुङटारबाट उक्लेर खरिबोटदेखि माथि पिछडीएका ठाउँसम्म पुगें । यसरी हेर्दा केही न केही मात्रात्मक विकास त भएको छ । तर, जनताको जति अपेक्षा छ, त्यो पुरा हुन नसकेको अनुभूति गरेको छु ।

    सुज अभियान सम्पन्न भएको दिन यहाँले जनता र राजनीतिक दलबीचको सम्बन्ध टुटेको छ भन्नुएको थियो । टुटेको त्यो सम्बन्धलाई कसरी जोड्न सकिन्छ ?

    प्रतिनिधि जनताका सेवक हुनुपर्ने तर जनताको मालिक भन्ने धारणा बढ्दै गएको छ । हामीले राजतन्त्र अन्त्य गरेका हौं । कुनै व्यक्ति वा वंश अन्त्य गरेको होइनौं । प्रवृत्ति अन्त्य गरेका हौं । नेपाली समाज सामन्ती युगदेखि नै विभाजित छ । धनी र गरिब रूपमा विभाजित छ । जातिय रूपमा विभाजित छ । कथित वर्णको रूपमा विभाजित छ । उपल्लो जाति र तल्लो जातिको रूपमा विभाजित छ । लैंगिक रूपमा महिला र पुरुषबीचमा विभेद छ । वर्ण व्यवस्थाको रूपमा दलित र गैर-दलितको रूपमा विभाजित छ । मधेसी, थारु, खसआर्य, जनजातिहरूले बनेको जुन नेपाल हो, त्यसमा अहिले पनि विभेदीकरण छ । त्यो अहिलेसम्म पनि रहनु र गणतन्त्र आइसकेपछि नेताहरूले त्यसलाई भत्काउनु पर्नेमा नेताहरू नै फेरि आफूलाई नयाँ वर्ग, नयाँ शासकको रूपमा प्रस्तुत गरिरहेका छन् । सो कारणले गर्दा जनता, राजनीतिक नेतृत्व र पार्टीबीचको सम्बन्ध टुटेको मैले पाएँ । यसले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँदैन । नयाँ रूपमा छोटे राजा, महाराजाहरू पैदा हुने हो भने गणतन्त्र र संघीयताको खास अर्थ रहँदैन भन्ने मलाई गम्भीर चिन्तासहित बोध भएको छ ।

    अहिलेको ताजा अवस्थामा राजनीतिक दलसँग जनताको अपेक्षा के रहेछ ?

    हाम्रा जनता धेरै सरल छन् । सोझा छन् । इमान्दार छन् । राजनीतिक आस्थामा जनता पनि बाँडिएका छन् । आफूले चुनेर पठाएका जनप्रतिनिधिसँग ठूलो अपेक्षा गर्छन् । त्यो एउटा पाटो हो । सबै कुरा एकैपटम पुरा गर्न सकिदैन । जनतालाई ढाँट्नु हुँदैन । जनतालाई यथार्थ बताउनुपर्छ । निर्वाचनको बेलादेखि नै परोक्ष, प्रत्यक्ष तरिकाले भोट किन्ने प्रवृत्ति बढेको छ । विचार, मूल्यमान्यता, आदर्शभन्दा पनि तत्काल लाभ लिने ढंगले जनतालाई समेत प्रदूषित बनाउनु अत्यन्त चिन्ताजनक विषय हो ।

    त्यसैले मैले जनतालाई सत्य कुरा भन्ने गरेको छु । उहाँहरूले यो चाहियो त्यो चाहियो भन्नुहुन्छ । तपाईंहरूले माग्ने होइन । तपाईंहरू मालिक हो । राज्यको ढुकुटी बच्चादेखि वृद्धसम्मले तिरेको कर हो । बच्चाले खाने दूधमा पनि कर लाग्छ । त्यो तपाईंहरूको आफ्नै ढुकुटी हो । ढुकुटीको ठिक ढंगले सदुपयोग गर्नुपर्छ । प्रदेश र स्थानीय तहमा वितरण गरेर जनप्रतिनिधिहरूले जनताको सेवामा प्रयोग गरुन भनेर तपाईंहरू सबैले सतर्कता अपनाउने हो । जनप्रतिनिधिसँग माग्ने होइन । उसले खल्तीबाट दिने पनि होइन । तपाईंकै पैसा हो । राजश्व हो । त्यसको व्यवस्थापन, रेखदेख जनप्रतिनिधिले गर्ने हो । म त्यसमा सजग छु । सतर्क छु । तपाईंहरूले आफ्नो रगत र पसिनाको मोल बुझाउनु भएको छ । त्यो अनुसार तपाईंहरूले नपाएको कुरामा म सतर्क छु । त्यसैले तपाईंहरूको अधिकारको रूपमा बाटोघाटो, पानी, बिजुली, सेवासुविधा, शिक्षा, स्वास्थ्य प्राप्त गर्नुपर्छ भनेर म लागिरहेको छु । प्रत्यत्न गरिरहेको छु । तर, भनेजस्तो हुन सकिरहेको छैन । त्यसैले मबाट तपाईंहरूले माग्ने होइन । तपाईंहरूले मलाई खबरदारी गराउने हो । हाम्रो अधिकार र धन जुन छ, त्यसको प्रतिफल जनतासम्म  पुर्‍याउनु पर्‍याे । त्यसमा भूमिका निर्वाह गर भनेर तपाईंहरूले आदेश दिनुभयो भने म त्यो पालना गर्छु भनेर मैले भन्दै आएको छु ।

    विकासका लागि उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ भन्नुभयो । विकासका लागि जिल्ला नै टुक्रयाउन आवश्यक छ र ?

    जिल्ला भनेको प्रशासनिक इकाइ हो । हाम्रो संविधानले जिल्लालाई चिन्दैन र खासै महत्त्व पनि दिदैन । तीन तहमा हाम्रो राज्य विभाजित छ । संघ, प्रदेश र स्थानीय तह । जिल्ला स्थानीय तहको निम्ति केही सेवाहरू र प्रशासनिक कामहरूको संयोजनको निम्ति मात्रै बनाइएको हो । त्यसकारण छुट्टै जिल्ला बन्ने विषयलाई जसरी हाइलाइट गरिएको छ, त्यो सही होइन । त्यसो गर्नु उपयुक्त पनि छैन ।

    प्रत्येक जिल्लाको एउटा संघीय निर्वाचन क्षेत्र हुनेछ भनेर संविधानले भनेको छ । त्यस अर्थमा जिल्लाको अर्थ छ । गोरखा सुरुदेखि नै दुई वटा जिल्ला हो । धार्चे लेकभन्दा माथिको जुन उत्तरी भाग छ र हिमालभन्दा पारिपट्टी पनि मनाङ, मुस्ताङ, रसुवा जत्तिकै गोरखा छ । जसलाई हामी चुमनुब्री भन्छौं । त्यो र धार्चे लेकभन्दा माथिल्लोको भागको दुईतिहाइ भूगोल त्यसमा पर्छ । जनसंख्याको हिसावले १०/१५ प्रतिशत मात्रै भएपनि भूगोल दुईतिहाइ त्यसमा छ । त्यहाँ अत्यन्त विकट छ । गुरुङ, लामा, परियार, विश्वकर्मा त्यहाँ बसोबास गर्छन् । आर्थिक रूपमा पिछडीएको छ ।

    baburam2.jpg

    म आफैं अर्थमन्त्री र हिसिलाजी भौतिक मन्त्री भएको बेलो उत्तरी गोरखासम्म बाटो  पुर्‍याउने काम गर्‍यौं । बेनीघाट, आरुघाट, लार्के सडक आदिको हामीले सुरुवात गर्‍यौं । पछि हाम्रो सरकारले निरन्तरता पाउन सकेन । कछुवा गतिमा त्यो बाटो गइरहेको छ । अझै पनि हिमाल पारिको भेगमा बाटो पुगेको छैन । नेपाली सेनामार्फत् भर्खरै ट्रयाक खोलिदै छ ।

    यी सबै हिसावले त्यो क्षेत्रको विकासको निम्ति उनीहरूको आफ्नै छुट्टै प्रतिनिधित्वको व्यवस्था हुनुपर्‍यो । जुन क्षेत्रहरूमा आदिवासी जनजातिहरूले बसोवास गरेका हुन्छन् । उनीहरू विकट र विपन्न अवस्थामा हुन्छन् । त्यस्तालाई स्वयत्त क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्र बनाउन सकिन्छ भन्ने हाम्रो संविधानमा नै व्यवस्था छ । त्यस हिसावले स्वायत्त क्षेत्र बनाइनु पर्छ । उनीहरूको प्रदेश र स्थानीय तहमा मात्र होइन संघमा पनि छुट्टै प्रतिनिधित्व हुनुपर्छ । त्यसो हुन सक्यो भने तिनीहरूको छिटो विकास हुन्छ भन्ने अर्थमा मैले भनेको हो । जिल्ला नै टुक्राउनुपर्छ भन्न खोजेको होइन । जिल्लाको अस्तित्व नै छैन । त्यसलाई जोड दिन आवश्यक छैन । उत्तरी भेगका जनताको विकास, समृद्धि, पहिचान, भाषा संस्कृति, शिक्षा आदिको संरक्षण र विकास गर्ने हो भने त्यसलाई स्वायत्त क्षेत्रको रूपमा छिटोभन्दा छिटो घोषणा गरेर जानुपर्छ भन्ने मेरो भनाइ हो ।

    जिल्लाका ग्रामीण सडकको अवस्था दर्दनाक छ । धेरैजसो ठाउँमा भासिने र पहिरो जाने समस्या पनि देखिएको छ । घरघरै सडक लैजानै पर्ने प्रवृत्तिले अन्नबाली उब्जिने ठाउँ पनि नष्ट पारिएको छ । सडक खन्नुपूर्व सजगता अपनाउन नसकिएको हो की ?

    तपाईंले राम्रो कुरा उठाउनुभयो । म आर्किटेक प्लानर हुँ । क्षेत्रीय विकास योजनाको विद्यार्थी पनि हो । कुनै पनि ठाउँको विकास, त्यहाँको भौगोलिक, आर्थिक, सामाजिक, जनसांख्कि बनोट र त्यसको संरचनाको आधारमा नीति बनाउनुपर्छ भन्ने मान्यता राख्छु । गोरखाको उत्तर-दक्षिण लम्बाइमा भएको जुन आकार छ र त्यो नदीको जलाधारमा बाँडिएको छ । पूर्वमा बुढीगण्डकी जलाधार क्षेत्र, बीचमा दरौंदी जलाधार क्षेत्र र पश्चिममा चेपे, मर्स्याङ्दी जलाधार क्षेत्रले गोरखा बनेको छ ।

    दक्षिणमा त्रिशूली जलाधार क्षेत्र पर्छ । त्यसो भएको हुनाले सबभन्दा पहिले कृषि प्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा जोड्नको निम्ति बाटो सबैभन्दा महत्त्वपूर्ण हुन्छ । बजारसँग नजोडिएसम्म अर्थतन्त्रको रूपान्तरण हुँदैन । बाटो कहाँ बनाउने ? ०६४ सालमा तत्कालीन नेकपा माओवादी अन्तरिम सरकारमा आयो । हिसिला यमीजी भौतिक योजना मन्त्री बन्नुभयो । त्यतिबेला मैले गोरखालाई एउटा मोडेल बनाउनु पर्छ भनेर लागिपरें ।

    सडकहरू कसरी बनाउने भन्दा उत्तर-दक्षिण बग्ने नदीहरू छन् । त्यो नै परम्परागत रूपमा जनताको हिंडडुल गर्ने र अहिले पनि आर्थिक र जनसांख्यिक प्रवाह हुने दिशा हो । बाटो बनाउँदा हामीले गोरखामा सबैभन्दा पहिलो उत्तर-दक्षिण बाटाहरू र त्यसलाई जोड्ने बीचबाट पूर्व-पश्चिम जोड्ने बाटोमा जोड दिनुपर्छ । दरौंदीको किनार किनारै जाने बाटो भनेर ११ किलो, भालुसुवाँरा, वारपाक, लाप्राक, माछीखोला सडक २०६४ सालमा सुरुवात गरियो ।

    २०६५ सालमा म अर्थमन्त्री भएपछि बेनीघाट, आरुघाट र लार्के सडकलाई उत्तर-दक्षिण जोड्नुपर्छ भन्ने भयो । चेपे किनारको फाट्टफुट्ट सडकहरू बनेको थियो । तर, व्यवस्थित थिएन । त्यसलाई दूध पोखरी मार्ग भनेर पालुङटारदेखि चेपेको किनारै किनार खरिबोट हुँदै दूध पोखरी जोड्ने भनेर । यसरी तीन वटा मूल बाटाहरू नदीका किनारबाट सँगसँगै । त्यसपछि पहाडको चुचुरो । फेदिबाट नगएर चुचुरोसम्म पुगिदैन । पहाडको चुचुरोसम्म जाने गरेर पनि तलबाट लिगलिग पट्टीबाट अथवा चोरकाटेबाट माथि भच्चेक सिरानडाँडासम्म जानेबाटो, गोरखा पट्टीबाट घ्याम्पेसाल पट्टी हुँदै वारपाकसम्म जाने बाटो ।

    गोरखकाली रबर उद्योगलाई मर्न दिने होइन, त्यसलाई पुनर्जीवन दिने र त्यसको वरिपरी अरू उद्योग निर्माण गर्ने ढंगले जानुपर्छ । त्यसबारे मैले प्रयत्न गरिराखेको छु ।

    यसरी ढाडबाट र फेदीबाट बाटो लैजाने र पूर्व-पश्चिममा मुख्य रूपमा आरुघाटदेखि पालुङटारसम्म जाने बाटो जसलाई पछि मध्यपहाडी लोकमार्ग भनेर बनाइयो । काठमाडौं-पोखरा जाने बाटो त्रिशुलीको पारिपट्टीबाट गएको छ । गोरखा पट्टीबाट पनि त्रिशूलीको किनारै किनान जाने बाटो । यत्ति पाँच वटा बाटोलाई मुख्य रणनीतिक बाटो बनाउनुपर्छ भन्ने मान्यताले म अगाडि बढेको छु ।

    बीचमा हाम्रो सरकार रहेन । ढिलो भयो । अरू सरकारले यो मर्म बुझेनन् । जनता समाजवादी पार्टी (जसपा) पनि यो सरकारमा रहेको हुनाले अहिले भौतिक योजना मन्त्रालय जसपाको भागमा छ । फेरि ती रणनीतिक बाटाहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने पहल मैले सुरु गरेको छु । मुख्य कुरा यो हो । तर, जनता र नेताहरूले नबुझेर, बुझाउन नसकेर घर-घरमा लगेर डोजर चलाइएको छ । जनताका मकैबारी, खबरबारीसमेत नष्ट गर्ने काम भएको छ । यो बेठिक छ । त्यसैले प्रत्येक घरमा बाटो लैजाने होइन । रणनीतिक बाटोहरू बनाएर त्यहाँ वस्ती केन्द्रित गरियो भने दीगो विकास हुन्छ । छरिएका वस्तीहरू सबै ठाउँमा बाटो लैजान थालियो भने त्यसले विकास हुँदैन । विनाश मात्रै हुन्छ । यसलाई हामीले गम्भीर ढंगले लिनुपर्छ ।

    गोरखा दरबार, मनकामना मन्दिरबाहेक लिगलिगकोट, वारपाक, लाप्राक, भच्चेक, नम्की सिरानडाँडा, नागेपोखरी, दूधपोखरीलगायत छन् । यी ठाउँहरूमा आन्तरिक तथा बाह्य पर्यटक कसरी  पुर्‍याउन सकिएला ?

    यो पनि राम्रो प्रश्न तपाईंले उठाउनुभयो । गोरखा भनेकै यसको ऐतिहासिक, साँस्कृतिक, धार्मिक र उत्तरी भेगमा साहसिक पर्यटन सम्भावना भएको जिल्ला हो । ती मध्येमा पनि मुख्य रूपमा ऐतिहासिक दरबार, किल्ला र मन्दिरहरू छन् । साँस्कृतिक थलोहरू छन् । लखन थापादेखि भीमसेन थापाहरूलगायतका ऐतिहासिक व्यक्तित्वहरूकाे जन्म भएका थलोहरू छन् । ती सबैको एकीकृत ढंगले विकास गर्न सक्ने हो भने ऐतिहासिक, साँस्कृतिक, धार्मिक र साहसिक पर्यटनको निम्ति गोरखा देशको अग्रणी केन्द्र बन्न सक्छ ।

    यसलाई ध्यान दिएर मैले केही वर्षदेखि गोरखाको एकीकृत पर्यटन विकासको निम्ति योजना बनाएर सरकारसमक्ष प्रस्तुत गरिराखेको छु । दुर्भाग्य, हाम्रो मन्त्रीहरू, कर्मचारीहरू यति दूरदृष्टिविहीन छन् कि उनीहरूले यस्ता कुराको महत्त्वनै बुझ्दैनन् । यसलाई अगाडि बढाऔं भनेर धेरै पटक भनें । प्रत्येक वर्ष नयाँ अर्थमन्त्री जो आउँछन्, मैले सो योजना पेश गरेको हुन्छ । उनीहरू कहिल्यै पनि बजेटमा त्यो कुरा राख्दैनन् । हिजो (१९ मंसिर) मात्रै पर्यटन मन्त्री प्रेम आलेजीलाई भेटेर फेरि पनि त्यो प्रस्ताव प्रस्तुत गरेको छु । त्यसमा ‘गोरखा पर्यटन सर्किट’ भनेर पृथ्वीनारायण शाहको गोरखा दरबारदेखि कालु पाण्डे जन्मिएको खोप्लाङ, द्रव्य शाहको लिगलिग कोट दरबार, सिरानचोक, अजिरकोट, सिरानडाँडा हुँदै घलेहरूको दरबार वारपाक, सुलिकोट, आरुकोट र भीमसेन थापा जन्मिएको स्थल बोर्लाङ हुँदै लखन थापाको जन्मस्थल बुंकोट हुँदै मनकामनासम्म एकीकृत सर्किटको प्रस्ताव प्रस्तुत गरेको छु । उत्तरी गोरखामा धार्चे लेकभन्दा माथि साहसिक पर्यटनको निम्ति उपयुक्त छ । मनास्लु सर्किट, त्यहाँ साहसिक पर्यटनको अलगै धार । यसरी दुई वटा पर्यटनको केन्द्र बनाएर जान सक्ने हो भने गोरखाको विकास र सम्भावना छ भन्ने मलाई लाग्छ ।

    हिमाली क्षेत्रको जडीबुटीबाट जीवनस्तर उकास्न सकिन्न ? कि संरक्षण मात्रै गरिरहने ?

    मेरै सोचको प्रश्न तपाईंले उठाइदिनु भयो । रणनीतिक महत्त्वका भौतिक पूर्वाधारहरू बनाउने मेरो अवधारणा हो । दोस्रो, सामाजिक पूर्वाधारको निम्ति शिक्षा र स्वास्थ्यको निम्ति पूर्वाधार निर्माण गर्ने । खासगरी गोरखा, आँपपिपल, आरुघाटमा ५० बेडका अस्पताल बनाउने । शैक्षिक ढंगले गोरखा र पालुङटारलाई शैक्षिक केन्द्रको हवको रूपमा विकास गर्ने । गोरखा विश्वविद्यालयको रूपमा विकास गर्ने । भौतिक र सामाजिक पूर्वाधारले जनशक्ति सुविधा प्रदान गर्छ । अनि त्यसपछि पर्यटन र कृषि क्षेत्रको रूपान्तरण । त्यसको निम्ति मैले दरौंदीकै एकीकृत कृषि विकास योजना भनेर प्रस्तुत गरेको छु भने औद्योगिकरणको रूपमा च्याङ्लीमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर त्यो प्रक्रिया पनि सुरु गरेका छौं । विभिन्न ढंगले त्यो अड्केर बसेको छ । कृषि र उद्योगसँग जोडिएको भनेको जडिबुटी उत्पादन र प्रशोधन हो । उत्तरी भेगमा जडिबुटीको ठूलो सम्भावना छ । परम्परादेखि नै अत्यन्तै बहुमूल्य जडिबुटीहरू छन् । तिनको संरक्षण, विकास र नयाँ जडिबुटीको उत्पादन गरेर तिनको प्रशोधन गर्ने गरी केही वर्षदेखि मैले वारपाकको फेदी बालुवा बजारमा जडिबुटी संकलन र प्रशोधन केन्द्र निर्णण गर्ने भनेर २ वर्षदेखि सुरुवात गरेको छु । हिजो (१९ मंसिर) बन मन्त्री र सचिवसँग भेटेर ध्यानाकर्षण गराएको छु । समग्र ढंगले यसरी लैजान सकियो भने गोरखाको विकास हुन्छ ।

    पालुङटार विमानस्थल गौचरणमा परिणत भएको वषौं भयो । अब त्यहाँबाट प्लेन उड्न सम्भव छ कि छैन ?

    प्लेन उड्ने सम्भावना छ । किनकी हामी संघीयतामा गैसक्यौं । गोरखाको विकास राष्ट्रिय केन्द्रमा पर्छ अब । काठमाडौं र पोखराको बीचमा त्यो पर्छ । मर्स्याङ्दी, बुढीगण्डकीमा ठूल्ठूला परियोजनाहरू बन्दैछन् । मध्यपहाडी लोकमार्गले पनि गोरखालाई छिचोलेर जाँदै छ । अहिले त नहोला केही दशकपछि काठमाडौंबाट पोखरासम्म जाने रेलमार्ग पनि त्यहाँ बन्छ । त्यसकारण गोरखा विकासको ठूलो केन्द्र बन्न सक्छ । पालुङटार र मर्स्याङ्दी नदीको जुन उपत्यका छ, त्यो गोरखामात्रै होइन, गोरखा, लमजुङ र तनहुँको केन्द्र हो । त्यहाँ ठूलो शहरीकरण भएर पनि जान्छ । त्यसैले त्यहाँ हवाई यातायातको सुविधा चाहिन्छ । पालुङटार विमानस्थल नेपालको पुरानो र ठूलो मध्येकै पर्दछ पहाडी क्षेत्रमा । केही वर्षदेखि अलपत्र भएर बसेको थियो । अब विमानस्थल पुनःनिर्माण गरेर सुचारु गर्ने दिशातिर अगाडि बढ्दै छ । केही समयपछि सञ्चालन हुन्छ । 

    प्लेन उडेको कहिले देख्न पाइन्छ ? 

    अर्को वर्षसम्म त्यो हुन सक्छ ।  

    यति छिट्टै ? 

    अँ ।

    गोरखामा रहेको देशकै प्रख्यात गोरखकाली रबर उद्योग पनि बन्द छ । के अब त्यो उद्योग सञ्चालनमा नआउने नै हो ?

    विविध कारणले गर्दा राष्ट्रिय उद्योगधन्दाहरू धरासायी भएका छन् ।  रबर उद्योग पनि एक हो । त्यसलाई पुरानै रूपमा होइन, आधुनिकीकरण गरेर सञ्चान गर्नुपर्छ भन्ने कुराकानी भइरहेको छ । सरकार पटक-पटक परिवर्तन भयो । केपी शर्मा ओली नेतृत्वको सरकारले पटक्कै ध्यान दिएन । तीन वर्षसम्म नेकपाको सरकार बन्यो । त्यो ठूलो अवसर थियो । ती साथीहरूले ठूलो अवसर गुमाउनु भयो भन्ने मलाई लाग्छ । त्यसलाई सञ्चालन गर्नको निम्ति कुराकानी अगाडि बढेको छ । राज्य र निजी क्षेत्र मिलेर संयुक्त रूपमा हुन्छ कि अथवा चिनियाँ सहयोगबाट बनेको हुनाले उपकरणलाई नयाँ बनाएर फेरि सञ्चालन गर्न सकिन्छ कि त्यो विषयमो कुराकानी भइरहेको छ ।

    मैले अघि नै भनें, च्याङ्लीमा औद्योगिक क्षेत्र निर्माण गर्दैछौं । च्याङ्ली र त्यो नजिकै पर्छ । यी दुई वटालाई एकीकृत ढंगले विकास गरेर मर्स्याङ्दीको किनारी भेग छ, त्यसमा औद्योगिक क्षेत्र विकास गर्न सक्यौं भनेर गोरखामा मात्रै होइन, पछि बाह्य लगानी आएर त्यो ठूलो औद्योगिक क्षेत्र बन्न सक्छ । त्यसैले गोरखकाली रबर उद्योगलाई मर्न दिने होइन, त्यसलाई पुनर्जीवनदिने र त्यसको वरिपरी अरू उद्योग निर्माण गर्ने ढंगले जानुपर्छ । त्यसबारे मैले प्रयत्न गरिराखेको छु ।

    बुढी गण्डकी परियोजना बुझ्नेलाई श्रीखण्ड । नबुझ्नेलाई खुर्पाको बिंड भनेजस्तो भयो ।

    बुढी गण्डकी आयोजना अघि बढ्छ कि बढ्दैन भन्ने आशंकमा रहेका प्रभावितहरूलाई के भन्नुहुन्छ ? 

    बुढी गण्डकी परियोजना बुझ्नेलाई श्रीखण्ड । नबुझ्नेलाई खुर्पाको बिंड भनेजस्तो भयो । बुढी गण्डकी परियोजना मैले ठूलो सपना देखेर अगाडि बढाएको परियोजना हो । म प्रधानमन्त्री भएको बेलामा राष्ट्रिय गौरवको परियोजनाको रूपमा घोषणा गरी प्राथमिकतामा राखें । किनभने काठमाडौं र पोखराको बीचमा जलाशययुक्त योजना बन्छ, त्यसले बिजुली उत्पादन गर्ने मात्रै होइन । त्यसबाट संकलन हुने पानीले बन्ने ठूलो ताल हुन्छ (फेवातालभन्दा १५ गुणा ठूलो ताल) त्यसले पर्यटकीय सम्भावना पनि ल्याउँछ र त्यहाँ जम्मा भएको पानी त्यो भन्दा तल थुप्रै अरू परियोजना पनि बनाउन सकिन्छ भनेर बहुउदेश्यीय ढंगले, अत्यन्त प्राथमिकताका साथ नेपालीहरू आफैंले बनानउनुपर्छ भनेर सुरु गरिएको योजना हो ।

    नेपाली आफैंले किन बनाउनु भने ठूला परियोजनाको अुभवत हामीसँग छैन । ठूलो परियोजनाबाट विद्युत् उत्पादन सँगसँगै पानीको प्रयोग, पर्यटन विकास र औद्योगिक विकासको पनि एउटा राम्रो सम्भावना रहन्छ । त्यसलाई नेपालीहरू आफैंले निर्माण गर्‍यौं भने त्यसबाट अनुभव, ज्ञान प्राप्त हुन्छ । इन्जिनीयरिङ क्षमता वृद्धि सँगसँगै व्यवस्थापनको क्षमता बढ्छ । त्यसले अन्यत्र पनि औद्योगिकरण गर्नको निम्ति मद्दत पुग्छ भनेर सुरु गरें ।

    दुर्भाग्य ! त्यसपछिको सरकारले यसको महत्त्व बुझेनन् । कमिसन खोरहरूको घेराबन्दीमा परेर त्यसलाई भुकुन्डोजस्तो बनाए । अलपत्र पर्‍यो । यो अत्यन्तै दुःखद् छ । यसपटक पनि मैले आफ्नो यात्रा नै बेनीघाटबाट सुरु गरेर बुढी गण्डकी प्रभावित क्षेत्र हुँदै माछिखोलासम्म म गएँ । त्यहाँका जनताको धारणाहरू सुन्द म अत्यन्तै भावबिह्योल भएँ । सात वर्षभित्र बन्नुपर्ने परियोजना आठ वर्षसम्म सुरुवात पनि राम्रोसँग भएको छैन । म प्रधामन्त्री हुँदा बुढी गण्डकी विकास समिति बनाएर मुआब्जा वितरण लगायतका अधिकांश काम सम्पन्न भइसकेको थियो । त्यो मुआब्जा पनि पूर्ण रूपले जनताले पाएनन् । न बस्नु न छोड्नु अलपत्रको अवस्थामा जनता छन् । विकास भएर जनताले लाभ लिनुपर्ने ठाउँमा जनता नै उठिबास, सुकुम्वासी हुनुपर्ने स्थिति सिर्जना भएको छ, अत्यन्तै गैर-जिम्मेवारपूर्ण छ । सदरमुकाम गोरखामा आएर बुढी गण्डकी परियोजनाका पदाधिकारी, सिडिओलगायतलाई राखेर त्यो विषय मैले उठाएको छु । काठमाडौंमा आएर पनि त्यस परियोजनालाई छिटो सम्पन्न गर्नको निम्ति आवाज उठाइसकेको छु । तर, अहिले पनि सरकारले स्पष्ट नीति लिन सकेको छैन । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । छिटोभन्दा छिटो बुढी गण्डकी परियोजनाबारे सरकारले निर्णय गरोस् । र, नेपाल आफैंले बनाउने गरी अगाडि बढोस् ।

    बुढी गण्डकी आयोजना प्रभावितहरूको कतिपय मागहरूमा समर्थन जनाउँदै यहाँ आफैं पनि आन्दोलन र धर्नामा सहभागी हुनुभयो । आयोजना अघि बढाउन अब यहाँको भुमिका कस्तो हुनेछ ?

    यो विषयमा मैले ऊर्जा मन्त्रालय र अर्थमन्त्रालयका जिम्मेवार व्यक्तिहरू मन्त्री, सचिवलगायतसँग कुराकानी गरेको छु । उहाँहरूले छिट्टै यसको टुंगो गराउँछौं भन्नुभएको छ । यसमा अझै पनि अलमल छ । अलमलिनुपर्ने कुनै कारण छैन । यसलाई हामी नेपालीहरू आफैंले बनाउनुपर्छ । मैले सुरुमा बनाएको जुन डिपिआर छ, बुढी गण्डकी विकास समितिको कार्यकालमा यसको मुल खाका खिचिएको छ । त्यसैलाई अगाडि बढाउनुपर्छ । मेरो थप सुझाव, बुढी गण्डकी उपत्यकालाई नै विकास गर्ने गरी बुढी गण्डकी विकास प्राधिकरण बनाएर अगाडि बढाउँदा झन उपयुक्त हुन्छ । त्यसको निम्ति मैले सुझावहरू दिएको छु । तर, उहाँहरूले छिट्टै नै यसबारे निर्णय गर्छौं भनेको हुनाले पर्खेको मात्रै हो । अब पनि ढिलो भयो भने गम्भीर ढंगले हामीले आवाज उठाउनुपर्छ र म यसमा आवाज उठाउँछु । 

    गोरखाका लागि गोरखाका राजनीतिक दलहरू र नेताहरू किन एकजुट हुन सक्नुभएन ?

    आरोप प्रत्यारोप म गर्न चाहन्न । एउटा चैं दृष्टिकोणकै समस्या हो । विकासको निम्ति समग्र चित्र पहिले कोर्नुपर्छ । समग्रपछि अंशमा जानुपर्छ । हाम्रा अधिकांश नेताहरूको पनि समस्या के हो भने समग्रमा उहाँहरू देख्न नसक्ने अनि उहाँहरूले आफ्नै घर, आफ्नै वडा यस्ता ठाउँमा मात्रै हेर्ने त्यो जुन अल्पदृष्ट्रि छ, त्यो कारणले गर्दा उहाँहरूले विकासको गतिलाई अगाडि बढाउन नसक्नु भएको हो । म उहाँहरूलाई दोष दिन्न । उहाँहरूको दृष्टिकोणको दोष हो ।

    गोरखाको विकासका निम्ति अन्त्यमा के भन्नुहुन्छ ?

    गोरखा ऐतिहासिक बिम्ब र म गोर्खाली भएकोले मात्रै मैले भन्न खोजेको होइन तर गोरखाको विकासको हिसावले नेपालको बीचमा भएको, आर्थिकस्तर करिब-करिब मध्यमस्तरको भएकोले गोरखाको समग्र विकास योजनाले देशकै विकास योजनाको एउटा चित्र प्रस्तुत चैं गर्छ । गोरखाको विकासलाई एकीकृत ढंगले अगाडि बढाउनुको निम्ति जुन सोचहरू मैले अगाडि सारेको छु, त्यसलाई सबैले गम्भीरतापूर्वक लिउन भन्ने म चाहन्छु ।

    खासगरी रणनीतिक महत्त्वका पूर्वाधारहरू मेरो पालामा सुरुवात गरिएको थियो । जस्तै : बुढी गण्डकी परियोजना, मध्यपहाडी लोकमार्ग, बेनीघाट, आरुघाट, लार्के सडक, ११ किलो हुँदै वारपाक, लाप्राक सडक । गाउँले र पहाडी अर्थतन्त्रलाई औद्योगिकरण गर्ने हो भने सबैभन्दा पहिले सडक, पूर्वाधार, व्यवस्थित ढंगले बन्नुपर्छ । घरघरमा जाने डोजरे विकास होइन । महत्त्वपूर्ण रणनीतिक सडक बनाउनुपर्छ । गोरखाको निम्ति त्यो भनेको बेनीघाट, आरुघाट, लार्के र दरौंदी किनारै किनार वारपाक, लाप्राक माछीखोला जाने बाटो हो । चेपे, मर्स्याङ्दी किनार हुँदै जाने दूध पोखरी र मर्स्याङ्दी नदीको करिडोर र बीचबाट जाने मध्यपहाडी लोकमार्ग । यसलाई उच्च प्राथामिकता दिएर सबैभन्दा पहिले यसलाई पुरा गर्नुपर्छ । जोसुकै सरकारमा भए पनि यसलाई प्राथामिकता दिउन भन्ने मेरो पहिलो जोड यो छ ।

    गोरखाका जनताले मलाई तीन पटकसम्म चुनाव जिताएर पठाएको हुनाले मेरो विशेष जिम्मेवारी पनि त्यहाँ छ । यसका निम्ति म नेतृत्व लिन र सबैको अभिभाकत्व ग्रहण गर्न तयार छु ।

    दोस्रो, कृषिप्रधान हाम्रो अर्थतन्त्र भएको हुनाले कृषिको आधुनिकीकरण गर्नको निम्ति हामीले एकीकृत योजना अगाडि बढाउनुपर्छ । त्यसका निम्ति मैले दुईवटा कुरा अगाडि बढाएको छु । एउटा, दरौंदी उपत्यका । सबैभन्दा बढी पानी र फाँट भएको ठाउँ । दरौंदी, बेसिन एकीकृत कृषि विकास योजना भनेर मैले विज्ञहरूको सहयोगमा योजना बनाएर अर्थमन्त्रालय, कृषि मन्त्रालयलगायतमा प्रस्तुत गरेको छु ।

    dr baburam1.jpg

    तेस्रो, उत्तरी भेगमा रहेको जडिबुटी उत्पादन र प्रशोधनको प्रचुर सम्भावना भएको हुनाले बालुवामा राष्ट्रियस्तरको प्रशोधन केन्द्र बनाउने भनेर सुरुवात गरिएको छ । यसमा ध्यान दिनुपर्‍याे ।र, यसले कृषिको रूपान्तरणमा ठूलो योगदान गर्छ ।

    चौंथो, अब हामी औद्योगिकरणतिर नगइकन हुँदैन । त्यसो भएको हुनाले च्याङ्लीटारमा औद्योगिक क्षेत्र र गोरखकाली रबर उद्योगसँग भएको मर्स्याङ्दी किनारलगायतको फाँटहरू छन्, त्यो क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने हो भने भोलि निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तासमेत आएर बस्ने सम्भावना हन्छ । त्यसैले त्यसमा ध्याना दिऔं ।

    पाँचौं, पर्यटनको निम्ति गोरखाको आफ्नै साँस्कृतिक, ऐतिहासिक पहिचान छ, त्यसलाई मैले एकीकृत पर्यटन विकासको योजना पर्यटन मन्त्रालयमा प्रस्तुत गरेको छु  । माथि भनिसकें । त्यसलाई पुरा गर्नतिर जाऔं । सँगसँगै जनशक्तिकाे विकास नभए पनि विकास हुँदैन । यसको निम्ति शिक्षा र स्वास्थ्यमा ध्यान दिन जरुरी छ । गोरखा, आरुघाट आँपपिपल अस्पताल ५० बेड र अरू स्थानीय तहमा पनि १५/२० बेडका अस्पताल बनाएर स्वास्थ्य सेवाको व्यापक विस्तार, शिक्षामा, अलिकति, प्राविधिक शिक्षातिर जानुपर्छ । मेरै पालामा पालुङटारमा सिटिइभिटी सुरुवात गरिएको थियो । त्यसलाई विकास गरेर प्राविधिक विश्वविद्यालय नै बनाउने ढंगले हामी किन नजाने ? गोरखामा गोरखा विश्वविद्यालय किन नखोल्ने ? भन्ने पनि मलाई लाग्छ । यसरी हामी जान सक्यौं भने गोरखा बन्छ । यसका निम्ति बुझाइमा एकरुपकता र सक्रियता चाहिन्छ । यसका लागि म सबैसँग हार्दिक आग्रह गर्छु ।

    गोरखाका जनताले मलाई तीन पटकसम्म चुनाव जिताएर पठाएको हुनाले मेरो विशेष जिम्मेवारी पनि त्यहाँ छ । यसका निम्ति नेतृत्व लिन, सबैको अभिभाकत्व ग्रहण गर्न म तयार छु । गोरखा भ्रमणका क्रममा सबै पार्टीका साथीहरू र जनताले भन्नुभयो । खासगरी घाटबेंसी बुढी गण्डकी परियोजनाको डुबानमा पर्दै छ । बुढी गण्डकी अलपत्र परेकोमा त्यहाँका साथीहरूले आक्रोश पनि व्यक्त गर्नुभयो ।

    हामी अभिभावकविहीन जस्तो भयौं । त्यसैले तपाईं पार्टीको मात्रै नभइ, कमसेकम गोरखाको अभिभावक बनिदिनुपर्‍यो । देशको अभिभावक बन्नुपर्‍यो भनेर सबै साथीहरूले भन्दा म अत्यन्तै भावबिह्योल भएँ । जनताले मलाई यति धेरै जिम्मेवारी दिनुभएको छ । माया दिनु भएको छ । त्यसबाट म अत्यन्त खुसी छु । आगामी दिनमा गोरखाली जनताको सेवामा पूर्ण समर्पित हुन्छु ।

    गोरखाली जनतालाई यो पनि बताउन चाहन्छु । राजनीति जीवनबाट निवृत्त भएपछि म गएर बस्ने र मर्ने गोरखा मै हो । मेरो पुर्ख्यौली घर छ । त्यसको वरिपरी बिरुवाहरू लगाएर बुढेसकालमा पनि त्यहाँ गएर बस्ने मेरो सोच छ । 

    तस्बिर वेबटिभी खबर । 

    नातिसँग खेल्दा चित्त प्रशन्न हुन्छ : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]  नातिसँग खेल्दा चित्त प्रशन्न हुन्छ : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology