वेबटिभी खबर
नयाँ दिल्ली । विगत दुई वर्षयता विश्वभर कोरोना भाइरसको त्रासले मानव जिवनलाई नै संकटमा पारेको छ । कोरोना कहरकै कारणा धेरैले जीवनमा नसाेचेका परिवर्तनहरुको अनुभव गरे । कतिपयलाई प्रियजनबाट छुट्यायाे भने कोही आफन्तसँग नजिक पनि भए । यही सुखदुःखका अनुभुति छाडेर सन् २०२१ हामीबाट बिदा हुने तरखरमा छ ।
नयाँ वर्ष २०२२ को स्वागतको लागि सबै जना उत्सुक देखिन्छन् । सन् २०२१ मा बलिउड क्षेत्रमा पनि धेरै नै उतारचढावको स्थिति देखियो । चर्चित अभिनेताहरु दिलिप कुमारदेखि उदयमान अभिनेता सिद्धार्थ शुक्लाजस्ता होनहार कलाकार बलिउले गुमायो । उनीहरुको निधनले बलिउड जगत नै शोकमा डुब्यो ।
प्रख्यात अभिनेता दिलिप कुमार उर्फ मोहम्मद युसुफ खानको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भयो । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दाबढी चलचित्रमा अभिनय गरेका थिए । दिलीप कुमारको जन्म ११ डिसेम्बर १९२२ मा वर्तमान पाकिस्तानको पेशावर सहरमा भएको थियो । उनको बालापनको नाम मोहम्मद युसूफ खान थियो ।

९८ वर्षीय दिलीप कुमारलाई ३० जुन २०२१ मा हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि बिरामी थिए । अस्पताल भर्ना भएको केही समयपश्चात ७ जुलाई बिहान उनले अन्तिम श्वास लिँदै यो संसारबाट बिदा लिए । दिलीप कुमारको निधनले बलिउडले एक असल अभिभावक गुमायो ।
भारतीय अभिनेता सिद्धार्थ शुक्लाको यही वर्ष निधन भयो । लोकप्रिय रियालिटी सो बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको निधन २ सेप्टेम्बरमा हृदयघातको कारणले भएको भारतीय संचारमाध्यमले जनाएका छन् । ४० वर्षीय सिद्धार्थको निधनको खबरले बलिउड क्षेत्रसँगै उनका दर्शकहरु पनि शोकमा डुबे । संचारमाध्यमकाअनुसार सिद्धार्थले प्रेमीका शहनाज गिलको काखमा अन्तिम श्वास लिएका थिए । सिद्धार्थ उदयमान कलाकारका रुपमा अभिनय क्षेत्रमा जमिरहेका थिए ।

दक्षिण भारतीय फिल्मका अभिनेता पुनित कुमारले पनि अल्पायुमै सन् २०२१ मा यस संसारबाट बिदा लिए । हृदयघातको कारणले २९ अक्टुबरमा उनको निधन भएको हो । ४५ वर्षीय पुनीत अभिनेता राजकुमारका छोरा थिए । २९ भन्दाबढी कन्नड चलचित्रमा काम गरेका पुनीत राजकुमारले चाइल्ड आर्टिस्टबाट आफ्नो करियरको सुरुवात गरेका थिए ।

बलिउड र टिभी जगतकी चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षमा यसै वर्ष निधन भयो । मुम्बईमा छोरासँगै बस्दै आएकी उनको १६ जुलाईमा हृदयघातको कारणले निधन भएको हो । चर्चित भारतीय धारावाहिक ‘बालिका वधू’मा अभिनय गरेपछि दर्शकमाझ लोकप्रिय बनेकी उनले हिन्दी फिल्ममासमेत काम गरिसकेकी छिन् ।

धारावाहिक ‘प्रतिज्ञा’मा ठाकुर सज्जन सिंहको भुमिका निभाउने नामी अभिनेता अनुपम श्यामको ६३ वर्षमा निधन भयो । उनको ९ अगस्ट २०२१ मा मल्टि अर्गान फेलरको कारणले निधन भएको हो । टिभी धारावाहिकबाहेक उनले विभिन्न चलचित्रमा पनि अभिनय गरेका थिए ।
बलिउड अभिनेता विक्रमजीत कंवरपालको ५२ वर्षको उमेरमा कोरोना भाइरस संक्रमणबाट १ मे २०२१ मा निधन भयाे । भारतीय सेनाबाट सेवानिवृत्त भएका अभिनेता कंवरपालले २००३ बाट बलिउडमा कदम राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij